२१ बैशाख २०८२, आईतवार

‘बिस्ताराले पोल्यो’ गीतले शान्तिश्रीलाई नै पोल्यो, आलोचनापछि मागिन् माफी

Shanti

गायिका शान्तीश्री परियारले दर्शक–श्रोतासँग माफी मागेकी छन् । आफ्नो पछिल्लो तीज गीत ‘बिस्ताराले पोल्यो’लाई लिएर आलोचना र विरोध भएपछि उनले माफी मागेकी हुन् ।

११ साउनमा ‘हरि गिरी विमर्श’ युट्युब च्यानलबाट रिलिज ‘बिस्ताराले पोल्यो’ बोलको तीज गीत सार्वजनिक भए लगत्तै त्यसको म्युजिक भिडियो र गीतका शब्दका कारण उनको आलोचना भएको थियो।

उनले गायिका एवं लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यका रूपमा प्रतिष्ठान तथा दर्शकसँग माफी मागेकी छिन्।

बुधबार ‘जो जससँग सम्बन्धित छ’ शीर्षकमा वक्तव्य जारी गर्दै शान्तिश्रीले उक्त गीतको भिडियोको केही दृश्यांशको कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी आइरहेकाले माफी मागेको जनाएकी छन् । साथै, आगामी दिनमा शब्द छनोट गरी गाउने वाचा गर्दै उनले अब हिंड्दा ख्याल गरेर हिंड्ने बताएकी छन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यो गीत तीज विशेष, लोक तथा दाहोरी कुनै पनि विधा अन्तरतगको नभएता पनि उक्त गीतको भिडियोमा केहि दृश्यको कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको र त्यसै कारण सामाजिक सञ्जालमा धेरै नकारात्मक टिका टिप्पणी आइरहेको हुँदा म लोक तथा दाहोरी गीत प्रतिठान नेपालको केन्द्रीय सदस्यको नताले म सँग सम्बन्धित गतीले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तक प्रति आँच पुग्न गएको आभाव भएको हुदाँ क्षमाप्राथी छु । साथै आगामी दिनमा शब्द संगीत छनौट गरी गाउने वाचा गर्दछु । यस विचमा हजुरले म प्रति देखाउनुभएको सदासयता, माया तथा शुभन्तिा प्रति हार्दिक धन्यवाद दिन चाहान्छु ।’

उक्त गीतमा गायक गिरीकै लिरिक्स र म्यूजिक रहेको छ भने म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेकी मोडल सञ्चिता बोलाखे र रमेश विश्वकर्माको अभियन रहेको छ । हरि गिरी बिमर्शीको आफ्नै यूट्युवबाट ५ दिन अघि सार्वजनिक भएको गीतलाई अहिलेसम्म साढे ४ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । उक्त गीतका साना–साना क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले त केहि दिन अघि नै एक विज्ञप्ती नै जारी गरेर ‘बिस्ताराले पोल्यो’ लगायतका ५ गीतले तीजको मौलिक परम्परा माथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रलाई ठुलो क्षति पु¥याउने देखिएको भन्दै प्रतिबन्ध नै लगाइसकेको छ । उसले आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका ५ गीतमाथि प्रतिबन्ध लगाएको हो ।

    सम्बन्धित समाचार...