७ बैशाख २०८१, शुक्रबार

आफन्तले निधन भएको भनेका युवकलाई चितवन मेडिकल कलेजले बचायो, ‘म मरेको खबर सुनें, दुःख लाग्यो’

Birami

गत जेठ २९ गते चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीको मृत्यु भएको भन्दै एक समूहले अस्पतालमा तोडफोड गर्‍यो । दिउँसो ३ बजेको समयमा उपचारकै क्रममा रहेका बिरामीको मृत्यु भएको हल्ला फैलाएर अस्पतालमा तोडफोड हुँदा अस्पताल केहीबेर अशान्त बन्यो ।

अस्पतालले तत्कालै विज्ञप्ती जारी गर्दै बिरामीको मृत्यु नभएको र उपचारकै क्रममा रहेको उल्लेख गरेको थियो ।

घटनाक्रम

जेठ २७ गते भरतपुर २२ का १८ वर्षीय आशिष विकलाई निकै पेट दुख्यो । परिवारले हतारहतार चौविस कोठीको पुष्पाञ्जली अस्पतालमा साँझ पाँच बजे ल्याए । तर, अस्पतालले रातमा यहाँ कठिन हुनसक्ने भन्दै चितवन मेडिकल कलेज रिफर गर्‍यो ।

ज्वरो र पेट दुखाइले आशिष बेहोस जस्तै थिए । परिवारका सदस्य निकै आत्तिए । जेठ २८ गते चिकित्सकहरुले एपेन्डीसाइटिस् भएको भन्दै परिवारको सहमतिमा अपरेसन गरे । जेठ २९ गते फेरि अपरेसन गरिएको ठाउँमा रगत जमेको र संक्रमण भएर फोहर जम्मा भएको भन्दै कलेजले परिवारको सहमतिमै दोस्रो अपरेसन गर्‍यो ।

आशिषको अवस्था निकै नाजुक बनेपाछी उनलाई भेन्टिलेटरमा राखियो । तर, सोही बेला बिरामीको मृत्यु भएको भनेर आफन्तहरुले अस्पताल तोडफोड गरे । अस्पतालभित्रै पसेर तोडफोड गर्ने, सुरक्षागार्ड र चिकित्सक माथि हातपात गर्ने काम गरे । प्रहरीलाई स्थिति सम्हाल्न मुस्किल भयो । पाँच जना पक्राउ परे, पछि छुटे । अस्पतालले बिरामीको मृत्यु नभएको र उनी जीवित रहेको विज्ञप्ती जारी गरे पनि उनका आफन्तहरुले पत्याएनन् ।

अन्ततः ती उपचाररत बिरामी भरतपुर महानगरपालिका वडा नं.२२ का १८ वर्षीय आशिष वि.क.पूर्णरुपमा निको भएर आज (मंगलबार) डिस्चार्ज भएका छन् ।

डिस्चार्ज पश्चात बोल्दै आशिषले भने–‘चितवन मेडिकल कलेजले मलाई राम्रो उपचार दिएर नयाँ जीवन दियो, म अस्पतालप्रति आभारी छु ।’ उनले थपे–‘अस्पताल आउँदा म अचेत थिए, अहिले घर जान पाउँदा खुशी छु ।’

१८ वर्षका आशिष भानु मावि पहारिलोटारमा शिक्षा विषय लिएर कक्षा ११ मा पढ्छन् । उनी परिवारका एक्लो छोरा हुन् । उनकी १५ वर्षकी बहिनी प्रमिशा विक छिन् ।