रविलाई महामन्त्री ढकालको प्रश्न- बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा सभापति रवि लामिछानेलाई बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
सो प्रस्ताव केन्द्रीय समितिमा सभापति लामिछानेले पेश गर्न नदिएको आरोप उनले लगाएका छन् । साथै उनले सभापतिले बोलेका कुराहरुको रेकर्ड राख्न उपसमिति गठन गर्न समेत माग गरेका छन् । उनले सभापतिले बोलेका कुराहरुको अभिलेख राखेर जवाफ माग्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्- सभापति ज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो । राजनीतिमा आएपछी बोलेका सबै कुराहरू । यहि केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलिहरुको अभिलेखिकरणका लागी । अरुले बोलेका कुराहरू मलाई मतलव छैन, मलाई तपाईंले बोलेका कुराहरु मतलव छन् । हिजो किन बोल्नु भयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछी मात्र बोल्नु होला ।
मेरो पक्षमा आज कति जना हुन्छन्, त्यो गौण छ । यो अङ्कको कुरो होइन ? लोकतान्त्रिक मुल्य र मान्यताका कुरा हुन् ? सत्य र असत्यको कुरा हो । देउवा ओलि र प्रचण्डको पक्षमा पनि शत प्रतिशत मत होला । उनीहरूका गल्ती देखाउनेको पक्षमा ती पार्टीभित्र कोहि छैनन् होला तर के ती सहि छन् त सभापति ज्यू ? प्रश्न आउला, हाम्रा सभापतिलाई देउवा, ओलि र प्रचण्डसँग कम्पेयर गर्ने ? कम्पेयर गरेर राम्रा हाम्रै सभापति भनौंला तर सभापतिको ती नेतासँग फोटाहरू निरन्तर आइरखेका छन्, त्यो पनि सँगै सभापतिलाई देउवा, ओलि र प्रचण्डसँग दाँजेर को कति ठीक, को कता ठीक भन्ने बेला भइसक्यो मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको धेरैमाथि हुनपर्छ सभापति ज्यू, दाँजिने तहमा होइन । राजनेता बन्न पर्यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापति ज्यू, समीक्षा गर्नुहोस् ।
सभापति ज्यू, झिँगासँग उडियो भने ‘गूमा पुगिन्छ । मौरीसँग उड्यो भने ‘मह’मा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ। मौरीसँग उडौं, जनतालाई मह खुवाऔं ।
मेरा कुराहरू सुनेर सभापति ज्यू, केन्द्रीय सदस्य ज्यूहरु कोहि पनि नरिसाउनु होला । सच्चिऔं । मैले म चै नसच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन । मैले खाली सच्चिनु अघि केहि गल्तीहरु गरे होला । म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने ।
यस्तै महामन्त्री ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा आफुमाथि लागेका आरोपको जावफ दिएका छन् ।
प्रेमिकालाई सांसद बनाएको भन्ने आरोपको जवाफ दिदै ढकालले प्रस्तावमा आलोचना गर्नेहरुले नारीप्रतिको सम्मानलाई ख्याल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रस्तावमा मैले बिहानै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् भनेका छन् ।
उनले भनेका छन्- ‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहानै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि दिन गरिदिनुहोस् । देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको छु, गल्फ्रेन्डको कुरा गरेर मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । “म जान पाइन, एक जना नारी जाने ? मेरो साटो ” भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।’
त्यस्तै प्रस्तावमा उनले भनेका छन्- मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस् । पार्टीका केहि नेता भन्नुहुन्छ, सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढ्नुपर्छ । जसले नियम बनाउँछ, नेताको छोराछोरीले पर्छ कि पर्दैन ? मैले बिहा गरे र मेरो छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छा अनुसार गर्ने हो वा पार्टीको नीति अनुसार । पार्टीको नीति अरुका लागी मात्र बन्ने हो कि आफ्ना लागी पनि ? नेताहरू सरकारी अस्पतालमा उपचार गराउनु पर्ने हो कि होइन ? आफ्नो इच्छा अनुसार गर्ने हो वा नीति अनुसार गर्ने हो ? नीति बनाएपछी पालना गर्न तयार छौं ? नेताको आचरण निर्धारण गरी पालना गर्ने सबैजना तयार हुन्छन् भने खुशी हुन्छु । नत्र पनि मेरा लागी मात्र भए पनि नीति बनाइयोस् । देश छोडेर जा, देशको हित हुन्छ भन्नु हुन्छ भने पनि गइदिन्छु । राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरू भनिदिनुहोस् ।