एमालेले सरकारबाट फिर्ता बोलाएन आफ्ना मन्त्री
नेकपा (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनार्थ माग प्रशस्त गर्न आह्वान गर्ने भएको छ ।
कांग्रेससँग मिलेर नयाँ सरकार बनाउनेगरि हिजो (सोमबार) राति अबेर दुई दलबीच सहमति भएको भोलिपल्ट आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको हो ।
साथै, एमालेले आफ्ना मन्त्रीहरुलाई भने सरकारबाट फिर्ता बोलाएको छैन । कांग्रेस–एमाले नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बन्ने समझदारी बनेसँग आज नै मन्त्रीहरु फिर्ता बोलाइने तयारी थियो । केपी ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा एमालेले ढिलाइ गर्नुमा विशेष चोसोका साथ हेरिएको छ ।
एमाले उमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आह्वान गर्ने निर्णय भएसँग अहिले मन्त्री फिर्ता नबोलाइएको बताए । उनले प्रधानमन्त्रीले एमालेको आग्रहलाई स्वीकार नगरे बाँकी निर्णय लिने बताए । नेता ज्ञवालीले संविधानको धारा ७६ (२) अनुसार सरकार बन्न कुनै समस्या नरहेको बताए ।
‘हामीले कुनै दलसँग सम्बन्ध चिसो होस्, असमझदारी बढोस् भन्ने चाहिरहेका छैनौं । मिलेरै अगाडि बढ्ने हो । उहाँले सत्ता साझेदार दललाई पनि विश्वासमा लिएर अगाडि बढ्न सक्नुभएन । सर्वोच्च अदालतको व्याख्या छ, एउटै धाराअन्तर्गत पनि पटक–पटक सरकार बन्न सक्छ । कसैले उपधारा ३ अनुसार सरकार बन्छ भन्ने सोचेको छ भने त्यो गलत कुरा हो,’– उनले भने ।
ओली नेतृत्वमा बन्ने सरकारमा सामेल हुन माओवादी केन्द्रलाई एमालेको प्रस्ताव
यस्तै नेकपा (एमाले) ले कांग्रेससहित बन्ने अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अबको सरकारमा माओवादी केन्द्रलाई पनि सहभागी हुन प्रस्ताव गर्ने भएको छ । सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाएको छ । प्रधानमन्त्री दाहालले भने संसद्मा विश्वासको मत लिने र राजीनामा नदिने निर्णय लिएका छन् ।
प्रधानमन्त्री दाहाल अझैपनि कांग्रेससँग सहकार्य गर्नसकिने निश्कर्षमा छन् । उनले देउवासामू लोभलाग्दो प्रस्ताव गरेको निकटस्थहरुको दाबी छ । तर, देउवाले एमालेसँग सहमति निकै अघि बढेकोले अब ब्याक नहुने जवाफ दिएको पनि भनिएको छ ।
रास्वपाले पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म सरकारबाट बाहिरिने निर्णय नलिने निर्णय लिएको छ । राजनीतिक मामिलामा चासो राख्नेहरुले भोलिसम्म एउटा पिक्चर क्लियर हुने दाबी गरेका छन् ।