Close Me
१२ चैत्र २०८१, बुधबार

कस्तो छ ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’को कमाइ ?

Gau aayeko bato and london to paris

अघिल्लो वर्षको अन्त्यदेखि नेपाली बक्स अफिसमा उत्साह देखिएको थियो । एकपछि अर्को नेपाली फिल्मले बक्स अफिसमा राम्रो उपस्थिति जनाएका थिए । बलिउड र हलिउडका फिल्मभन्दा नेपाली फिल्ममा बक्स अफिस राम्रो देखिएको थियो ।

चैत ९ मा ‘महाजात्रा’ रिलिज भयो । यसले अनपेक्षित कलेक्सन गर्यो । चैत ३० मा ‘डिग्री माइला’ आयो । अपेक्षित नभए पनि पाँच करोडको आंकडा कटायो ।

१४ वैशाख ‘बोक्सीको घर’ रिलिज भयो । यसले अनपेक्षित कलेक्सन गयो । दश करोडको आंकडा पार गर्यो । वैशाख २१ मा ‘मनसरा’ आयो । यसले पनि ‘डिग्री माइला’ले जस्तो नकमाए पनि राम्रै कलेक्सन गर्यो ।

त्यसपछि, शुक्रबारबाट हलमा दुइवटा फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ प्रदर्शन भए। फरक विषयमा बनेका दुवै फिल्मका लक्षित वर्ग पनि फरक छन् ।

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ । मौलिक विषय रुचाउने दर्शक नेपालमा उल्लेख्य छन् । घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ले सहरको कथा बोल्छ । यस्तो विषय युवापुस्ताले रुचाउँछन् ।

आइतबारबाट ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’को वास्तविक परीक्षा सुरु भएको छ । यी दुइवटै फिल्मले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको यसको निर्माण पक्षले बताएको छ । सुरुवातमा उत्साहजनक शोज पाए पनि अकुपेन्सीमा भने उत्साहजनक साथ पाउन सफल भएनन् ।

दुवै फिल्मको कतिपय हलहरूको बुकिङ हेर्दा दर्शक औंलामा गणना गर्न सक्ने अवस्था देखिन्छ । यी दुवै फिल्मका लागि अपेक्षाकृत दर्शक नआउँदा, दर्शक कसरी हलसम्म तान्ने भन्ने चुनौती बढेको छ । यसरी हेर्दा दर्शक अभावका कारण भोलीका दिनमा हलहरुले चाँडै फिल्म उतारीदिने देखिन्छ । कतिपय हलहरूले शो राखे पनि दर्शक नै नभएकाको प्रतिक्रिया दिन्छन् ।

यद्दपी प्रदर्शनको पहिलो दिन फिल्म ‘गाउँ आएको बाटो’ले देशभर प्राप्त शोजमा करिब ६० प्रतिशत अकुपेन्सी कायम गरेको थियो । यस फिल्मले विशेषगरी मोफसलका केही सहरमा राम्रो कमाई गरेको देखिन्छ । यसका निर्देशक नवीन सुब्बाको ठूलो नाम छ । उनको नामैले पनि हलमा दर्शक तानेको छ । करिब २४ वर्षपछि निर्देशक सुब्बाको फिल्म हलमा लागेको हो । 

फिल्मले पूर्वी जिल्लाको भोजपुरको एउटा गाउँको राई समुदायको कथा भन्छ, जहाँ भर्खर मात्र सडक र गाडी आइपुगेको छ । त्यसपछि गाउँमा के परिवर्तन आउँछ र त्यसले के लिएर जान्छ भन्ने कथालाई फिल्मले उठाएको छ । साथै, बाबु-छोराबीचको सम्बन्धको कथालाई पनि देखाएको छ । पूर्वमा राई समुदायको घनत्व छ । यिनै कारणले पूर्वमा फिल्मको व्यापार सुखद् देखियो ।

‘गाउँ आएको बाटो’लाई तेस्रो दिन आइतबार देशभर १ सय ८ शोज उपल्बध भएको थियो । त्यस्तै, पूर्वका दमक, बिर्तामोड, इटहरीका हलमा फिल्मको व्यापार सुखद् रहेको थियो । काठमाडौं उपत्यकाका हलमा भने फिल्मप्रति दर्शकको ‘क्रेज’ सामान्य देखिएको छ ।

यस्तै, ‘लन्डन टु पेरिस’को शुक्रबार भन्दा शनिबार व्यापार सुधारोन्मुख देखिए पनि आइतबारबाट ओरालो लाग्दो अवस्थामा छ ।शुक्रबार र शनिबार नै अपेक्षाकृत दर्शक नपाउँदा प्रायः मल्टीप्लेक्सहरुले फिल्मको शोजमा भारी कटौती गरिरहेका छन् । 

शुक्रबार र शनिबार केही हलमा दर्शकको चाप सुखद् देखिए पछि फिल्मको निर्माण टिम र कलाकार शनिबार दर्शकको प्रतिक्रिया बुझ्न काठामाडौंका विभिन्न हल पुगेका थिए । फिल्म हेर्ने अधिकांशले प्रशंसा र तारीफ गर्दै अन्य दर्शकलाई पनि फिल्म हेर्न आग्रह गरेका थिए ।

यी दुवै फिल्मलाई हलमा लामो रेसको घोडा बन्न सशक्त ‘वर्ड अफ माउथ’को आवश्यकता परेको छ । अर्थात् अब कन्टेन्ट बोल्नुपर्ने भएको छ । तर, दुवै फिल्मलाई दर्शकबाट मिश्रित प्रतिक्रिया प्राप्त भएकाले व्यापारमा उछाल कायम गर्न चुनौती देखिन्छ । स्टार कलाकारले भरिएको दुवै फिल्मले बक्स अफिस आफूलाई चलायमान गराउन गाह्रो हुन थालेको अड्कलबाजी धेरैले गर्न थालेका छन् । यस हिसाबले दुवै फिल्मको व्यापार अपेक्षाकृत हुन नसक्ने देखिन्छ ।

‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’का निर्माताले कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छैनन् । ‘लन्डन टु पेरिस’ भन्दा ‘गाउँ आएको बाटो’को व्यापार धेरै रहेको र ‘विकेन्ड’मा १ करोड कमाएको हुनसक्ने प्रक्षेपण गरिएको छ । यद्यपि, दुवै फिल्मका निर्माताहरु व्यापार बढ्नेमा आशावादी छन् । निर्माता आशावादी सधैँ देखिए पनि दुवै फिल्मप्रति दर्शकको आकर्षण कम भएको प्रष्ट देखिन थालेको छ ।