२१ बैशाख २०८२, आईतवार

पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

India

आईसीसी टी-२० विश्वकपमा भारतले ६ रनको रोमाञ्चक जित दर्ता गरेको छ । चिर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध १ सय २० रनको लक्ष्य रक्षा गरेसँगै भारत विश्वकपमा संयुक्त रूपमा सबै भन्दा कम रन रक्षा गर्ने टोली बनेको छ । यसअघि श्रीलंकाले २०१४ विश्वकपमा न्युजिल्यान्डविरुद्ध १ सय २० रनको लक्ष्य जोगाएको थियो ।

हारसँगै पाकिस्तानलाई सुपर एटमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने भएको छ । अब भारतले सबै खेल जितेको अवस्थामा र अमेरिकाले आयरल्यान्डसँग हार बेहोरे पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना रहन्छ । लगातार २ जितले भारतको अघिल्लो चरणको यात्रा सहज बनेको छ ।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो ।

भारतका लागि ऋषभ पन्तले ३१ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाएका थिए । अक्षर पटेलले २० तथा कप्तान रोहित शर्माले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका नसिम शाह र हरिस रौफले ३-३ विकेट लिए । मोहम्मद आमिरको नाममा २ विकेट रह्यो ।

जवाफमा १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो । १४ ओभरमा ८ रन जोड्दा ३ विकेट मात्र गुमाएर सहज अवस्थामा पुगेको पाकिस्तान अन्तिम ६ ओभरमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो । मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । इमाद वासिमले १५ रन रनको योगदान दिए । कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले १३-१३ रन बनाए । भारतको जितमा जस्प्रित बुम्राहले ३ तथा हार्दिक पान्ड्याले २ विकेट लिए । १४ ओभरमा १४ रन खर्चेका बुम्राह म्यान अफ दि म्याच घोषित भए ।

जितसँगै भारतले २ खेलमा ४ अंक जोडेर समूह एको शीर्ष स्थानमा उक्लिएको छ । आफ्नो पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो । यसअघि अमेरिकासँग सुपर ओभरमा पराजित पाकिस्तानले अंक जोड्न सकेको छैन । अमेरिकाको पनि २ खेलमा ४ अंक छ ।