प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा जुटेका छन् ।
प्रधानमन्त्रीले संघीय सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुका साथै प्रदेश सरकारलाई समेत पूर्णता दिने गृह कार्यमा लागेका हुन् । संघीय सरकारदेखि प्रदेश सरकार बलियो बनाउन उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पटक पटक छलफल गरिसकेका छन् ।
प्रदेश सरकार गठनका विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत कुराकानी गरिरहेका छन् । माओवादी केन्द्रबाट सरकारमा गएर एक वर्ष कार्यकाल पूरा गरिसकेका मन्त्रीलाई हटाएर नयाँ ल्याउने गरी छलफल भई रहेको प्रधानमन्त्री निकट एक नेताले बताए ।
त्यसो भएमा माओवादीबाट मन्त्री भएका अर्थ मन्त्री वर्षमान पुन र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङ मात्रै रहने देखिएको छ । तर, प्रधानमन्त्री प्रचण्डले कुन मोडालिटीबाट आफ्नो पार्टीको मन्त्री हेरफेर गर्ने भन्ने बारेमा छलफल भएकाले निर्णयमा पुग्न बाँकी रहेको ती नेताले बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले आफ्नो पार्टीबाट गएका मन्त्रीको हेरफेर गर्ने विषयमा कुराकानी भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गरे ।
‘मन्त्री हेरफेर हुने बारेमा पार्टीमा छलफल भइरहेको छ, त्यो विषय बाहिर पनि आइसकेको छ’ उनले भने, ‘तर, कुन मोडलबाट कसरी मन्त्रिमण्डल पुनर्गठन गर्ने फाइनल भएको छैन ।’
यदि, माओवादीले मन्त्री हेरफेर गर्नु परेमा पदाधिकारी बैठक बोलाएर निर्णय गर्ने भएकाले प्रधानमन्त्रीले भनेकै भरमा परिवर्तन नहुने बताइएको छ । अहिले प्रधानमन्त्री आन्तरिक परामर्शमा भएकाले फाइनल निर्णय बाहिर आइसकेको छैन ।
यस्तै सत्तामा सहभागी एमाले र एकीकृत समाजवादीले तत्काल मन्त्री नफर्ने बुझिएको छ ।
उता प्रदेश सरकारमा जनमतले मधेस प्रदेशको मुख्यमन्त्री मागेपछि सत्ता साझेदार दलभित्र एक मत भइसकेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए ।
एकीकृत समाजवादीलाई ब्याक गराएर जनमतलाई दिने समझदारी भएको ती सदस्यले बताए । कुन दललाई कुन मन्त्री मिलाएर जाने सवालमा निष्कर्षमा पुग्न बाँकी रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीकै दीर्घबहादुर सोडारी मुख्यमन्त्री भएकाले तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिएर जाने गरी समझदारी भइसकेको छ । यद्यपि, सत्ता साझेदार दलभित्र भएको सहमति कार्यन्वयन हुन बाँकी रहेको छ ।
नाउपा र जनमत सरकारमा जाने तयारी
नागरिक उन्मुक्ति र जनमत सरकारमा जाने विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दुवै पार्टी सरकारमा जाने गरी छलफल चलाएका हुन् ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफू मन्त्री हुने गरी सरकारमा जाने छलफल भइरहेको बताइन । ‘नाउपा सरकारमा जाने गरी प्रधानमन्त्रीसँग छलफल भई राखेको छ । कुन मन्त्रालय र कहिले जाने टुङ्गो लागेको छैन,’ उनले भनिन् ।
अध्यक्ष श्रेष्ठले पर्यटन मन्त्रालय माग गरेकी छन् । उक्त मन्त्री माओवादीकै तामाङ भएपछि प्रधानमन्त्रीलाई भागबण्डा मिलाउन टाउको दुखाई भएको छ ।
उता, जनमत पनि बलियो मन्त्रालय भए मात्रै सरकारमा जाने बताउँदै आएको छ । यद्यपि, जनमतलाई कुन मन्त्रालय दिने भन्ने बारेमा निर्णयमा पुगिसकेको छैन ।