नेपालको विश्वकप यात्रा: नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्दै

नेपालले आज नेदरल्यान्डस्सँग खेल्दै आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ मा प्रतिस्पर्धा सुरु गर्दै छ । अमेरिका र वेस्ट इन्डिजमा जारी प्रतियोगिताको सातौँ खेलअन्तर्गत नेपालले आज राति सवा ९ बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्को सामना गर्ने छ ।
नेपाल जितसहित प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यसाथ मैदान उत्रँदै छ । नेपाली टिमले डालासमा समर्थकको साथ पनि पाउने अपेक्षा गरिएको छ । समूह-डीमा रहेका नेपाल र नेदरल्यान्डस् दुवै एसोसिएट टोली हुन् । यसअघि २०१४ मा विश्वकप खेलको नेपाल दोस्रो पटक प्रतियोगिताका लागि छनोट भएको हो । नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा विश्वकपमा पुगेको हो ।
डच टोलीले भने विश्वकपसम्म पुग्न क्षेत्रीय छनोट खेल्नु परेको थिएन । अघिल्लो संस्करणको टी-ट्वेन्टी विश्वकप खेलेको उसले दक्षिण अफ्रिकालाई पराजित गर्दै शीर्ष ८ भित्र प्रतियोगिता समाप्त गरेपछि ऊ सिधै विश्वकपका लागि योग्य भएको हो । डच टोलीका लागि यो सातै विश्वकप हो ।
आईसीसी टी-२० वरीयतामा नेपाल १७ औँ र नेदरल्यान्ड्स १५ औँ स्थानमा छन् । आफ्नो पहिलो अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित नेपालले आज लय समात्नु आवश्यक छ । आज नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्नु पर्ने छ । कप्तान रोहित पौडेल र कुशल मल्लले राम्रो स्ट्राइक रेटले रन बनाउन सके नेपाल खेलमा हाबी हुनेछ ।
दीपेन्द्रसिंह ऐरी नेपाली टिमका मेरुदण्ड हुन् । आईसीसी टी-२० खेलाडीको अलराउण्डर वरीयतामा नवौं नम्बरमा रकेका दीपेन्द्र म्याच विनरसमेत मानिन्छन् । अभ्यासका क्रममा घाइते भएका दीपेन्द्र अहिले फिट भइसकेका छन् । गुलशन झा, सोमपाल कामी र करण केसीले ब्याट र बलबाट योगदान दिनुपर्ने छ । ललित राजवंशीको स्पिनसँगै अविनाश बोहराको डेथ बलिङले खेलको नतिजा निर्धारण गर्ने छ ।
डच टोलीका लागि कप्तान स्कट एडवर्ड्स, म्याक्स ओ डाउड, लोगान भान बेक, बेस डी लिडे, पल भान मिकरेन र आर्यन दत्त प्रमुख खेलाडी हुन् । दुई टोलीले टी-२० क्रिकेटमा हालसम्म खेलेका ११ खेलमध्ये नेपाल ५ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । आज नेपाललाई नेदरल्यान्ड्ससँगको हेड टु हेड अन्तर बराबरी गर्ने अवसर पनि छ ।
ग्राण्ड प्रेरी स्टेडियममा हाल १ मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । जहाँ यसै विश्वकपमा घरेलु टोली अमेरिकाले क्यानडाले प्रस्तुत गरेको १ सय ९४ रनको लक्ष्य सहजै पूरा गरेको थियो । सोही कारण आजको खेल हाई स्कोरिङ हुनसक्ने अनुमान गरिएको छ ।
ग्राण्ड प्रेरी स्टेडियम आसपास आज १० प्रतिशत वर्षको सम्भावना छ । तापक्रम २४ देखि ३३ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ । २१ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्नेछ ।
नेपालको विश्वकप यात्रा
त्यस्तै नेपालले भने १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
नेपाली टिम
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
यता विश्वकप खेल्न अमेरिका पुगेको क्रिकेट टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले फोन गरेर उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन् ।
काठमाडौं महानगरपालिकाले टि ट्वान्टी विश्वकप खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको हो ।