१२ बैशाख २०८१, बुधबार

बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल

rez gardi lawyer human right activist

सन् १९९१ मा पाकिस्ताको शरणार्थी शिविरमा जन्मिएकी रेज गार्डीले बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छाडेकी छिन् ।

सुरुमा वार्षिक तलब दुई लाख डलर तर एउटा ठूलो वकिल कार्यालयको त्यो जागिर प्रस्ताव रेज गार्डीले लिइनन्। उनले एउटा उद्देश्यका लागि लड्नु थियो।

जिहादी समूह इस्लामिक स्टेट आईएसले अपहरण गरेका, बेचबिखन गरेका र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा उनी सहभागी भइन्।

बीबीसीले लेखेकाे खबर अनुसार उनका बाबुआमा इराकका कुर्द समुदायका थिए। उनको बाल्यकाल सद्दाम हुसैनको शासनकालमा ज्यान गुमाएका नातेदार, छिमेकी र साथीहरूको कथा सुनेर बित्यो।

जब उनी ७ वर्षकी भइन् उनको परिवार न्यूजील्यान्ड पुग्यो। उनले अध्ययनमा राम्रो गरिन् र गत वर्ष हार्भार्ड कानुन विद्यालयबाट पढाइ पूरा गरिन्।

आफू जन्मेको अवस्थाले आफूलाइ समानता, न्याय र मानव अधिकारमा आकर्षित गरेकाे भन्दै उनले ती कुरा भनेका के हुन् भनेर बुझ्नुभन्दा पहिले नै अन्याय र मानव अधिकारबाट वञ्जित गरेका घटनाहरू देखेकाे बताएकी छिन् ।

सन् २०१४ मा उनी उत्तरी इराकमा कुख्यात अपराध भएका स्थान नजिकै महिलाहरूको बयान सङ्कलन गरिरहेकी बेला त्यस क्षेत्रमा आईएसको उदय भयो।

gardi rez

उनीहरूको आक्रमणबाट बच्न हजारौँ त्रसित गाउँलेहरू नजिकैको सिन्जार पहाडतर्फ भागे। सयौँले त्यहाँ आश्रय पाए भने थुप्रै प्रचण्ड गर्मीका कारण मरे।

समातिएका युवा र अधबैँसे उमेरका पुरुषहरू मारिए। लन्डन स्कूल अफ इकोनोमिक्सले गत वर्ष प्रकाशित गरेको प्रतिवेदनमा आक्रमणमा १० हजार याजिदिजहरू समातिएका वा मारिएका बताएको छ।

नादिया मुराद सन् २०१४ मा लडाकूले नियन्त्रणमा लिएर यातना दिएकी र बलात्कृतमध्ये एक हुन्। त्यो बेला उनी जम्मा २१ वर्षकी थिइन्।

सन् २०१८ मा उनले अथक अभियानका लागि नोबेल शान्ति पुरस्कार जितिन् तर अन्य धेरै याजिदिज झैँ न्याय पाउन सकिनन्।

त्यहाँको कानुन व्यवस्था लैङ्गिक यातना, मानवताविरुद्धको अपराध र नरसंहारजस्ता अपराधमा न्याय दिन सक्षम नभएको अमेरिकी गैरसरकारी संस्था ग्लोबल जस्टिस सेन्टरले बताएको छ।

यद्यपि हालै इराकी अदालतले एक आईएस लडाकूलाई १४ वर्षीय याजिदी किशोरी आश्वाक हाजीलाई बलात्कार गरेको अपराधमा मृत्युदण्डको फैसला गर्‍यो।

जर्मनीमा बसिरहेकी आश्वाक बलात्कारीविरुद्धको मुद्दामा बयान दिन इराक पुगिन्। आश्वाक हाजीको बलात्कारीलाई इराकमा मृत्युदण्ड दिइएको छ

संयुक्त राष्ट्रसङ्घले आईएसले गरेका अपराधहरूमाथि अध्ययन गर्न एउटा अनुसन्धान समिति बनाएको छ। बलिया प्रमाणबाहेक विश्वको साझा स्मृतिले आईएसका अपराधीहरू खोज्न मद्दत गर्ने रेजको अपेक्षा छ।

“जब सद्दाम हुसैनले कुर्दिस बालबालिकालाई रासायनिक हतियार प्रयोग गरेर मारे, त्यो समाचार विश्वले थाहा पाउन लामो समय लाग्यो। अहिले त सारा विश्वले याजिदिहरूलाई के भयो देखेका छन्,” उनी भन्छिन्। बीबीसी