३ श्रावण २०८१, बिहीबार

राजा वीरेन्द्रको वंशनास भएको २३ वर्ष पूरा, रहस्यको गर्भमै दरबार हत्याकाण्ड

Birendra King

राजा वीरेन्द्र शाहको वंशनास भएको आज २३ वर्ष पूरा भएको छ । राजपरिवारको जमघट हुने त्रिभुवन सदनभित्रको बिलियार्ड बैठकको चर्चित दरबार हत्याकाण्डको रहस्य हालसम्म गर्भमै छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भएको दरबार हत्याकाण्ड कसले, किन र कसरी ग¥यो भन्ने विषयको उत्तर हालसम्म पाइएको छैन ।

पारिवारिक जमघट भइरहेका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, वीरेन्द्रका भाइ अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यको गोली प्रहार गरी हत्या भएको थियो ।

सो घटना तत्कालीन युवराज दीपेन्द्रले घटाएको भनिएको छ । सपरिवारको हत्या गरी आफैंले गोली हानेर आत्महत्या गरेको सरकारी भनाइ थियो । तत्कालीन प्रधानन्यायाधीसको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्ड अधिराजकुमार दीपेन्द्रले गरेको बताएका थिए ।

तर, एक जनाले आफ्नो परिवारलाई मात्रै हत्या गरेका हुन, वा होइनन् भन्ने विषय अहिलेसम्म खोजीमै छ । हरेक सरकारले सत्ताको वागडोर सम्हाल्दा दरबार हत्याकाण्डको छानबिन गर्ने उद्घोष गर्ने गरेका छन् । दुईदशक बितिसक्दा पनि सो विषयमा छानबिन भएको छैन । हत्याकाण्डको छानबिन हुन नसकेपनि सो घटना भएको त्रिभुवन सदन सर्वसाधारणले अवलोकन गर्न पाएका छन् ।

२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी घरको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो । लगत्तै त्रिभुवन दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन शुरूकै शैलीमा निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

२०६५ फागुन १५ बाट सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गरेको थियो । ‘त्यसको करिब ७ वर्षपछि त्रिभुवन सदनको बिलियार्ड बैठकहललगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिसकेको छ । तत्कालीन राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्ड भएको १ वर्षपछि २०५९ साल असारमा हत्याकाकाण्ड भएको त्रिभुवन सदन भत्काउन लगाइएको थियो ।

त्रिभुवन सदन भत्काएपछि त्यहाँको इँट्टालगायतका भवनमा प्रयोग भएका सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए । तत्कालीन युवराज स्वर्गीय दीपेन्द्रको खाट र मेट्रेसलगायत केही कपडा जलाइएको थियो । अन्य सामग्री नारायणहिटीको विभिन्न कक्षमा ज्ञानेन्द्रले नै राख्न आदेश दिएका थिए ।

त्रिभुवन सदनको विलियार्ड हलमा हत्याकाण्ड हुँदा बिच्छ्याइएको गलैँचामा रगत लत्पतिएका कारण सो गलैंचा स्टोरमै राख्न लगाइएको थियो । त्रिभुवन सदनमा रहेका २ सेट हरियो र हिमाल आकारको ३ सेट सोफा, बार दराज सिराहा बैठककक्षमा राखिएको थियो । दरबार हत्याकाण्ड भएलगत्तै डाइनिङ टेबलमा यत्रतत्र खानेकुरा छरिएका थिए । हाल हत्याकाण्ड हुँदा त्रिभुवन सदनमा राखिएका सामग्री केही कक्षमा रहेका छन् ।

दरवार हत्याकाण्ड पछि नेपालमा २०६२/६३ सालको जनआन्दोलन भयो । देशमा संविधान सभाको निर्वाचन दुई दुई पल्ट भइसक्यो । देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भइसक्यो । दुई दुई पल्ट स्थानीय तहको साथमा प्रदेश र संघीय संसदको निर्वाचन भइसक्यो । सत्ताको नेतृत्वमा फेरबदल भइरह्यो ।

थुप्रै नेताहरु सत्तामा पुगे, मन्त्री, प्रधानमन्त्री भए । नयाँ दल र नेता सत्ताको नेतृत्वमा पुग्दा जेठ १९ गते आएपछि दरवार हत्याकाण्डको निष्पक्ष छानविन गर्ने प्रतिवद्धता जनाउँछन्, दरवार हत्याकाण्डको रहस्योद्घाटन गर्ने उद्घोष गर्छन् । तर आजको दिनसम्म्म पनि दरवार हत्याकाण्डको तथ्य रहस्यको गर्भमै लुकेर बसेको छ ।

    सम्बन्धित समाचार...