३ श्रावण २०८१, बिहीबार

आलोचनापछि महजोडीले मागे माफी

maha jodi

गत बुधबार दिउँसो कुपन्डोलस्थित ब्रिक्स क्याफेमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, नरेन्द्र कंशाकारलगायत कलाकार जम्मा भएका थिए । उनीहरू त्यसको भोलिपल्ट अथवा बिहीबारबाट सुरु हुने अस्ट्रेलिया भ्रमणबारे छलफल गर्दै थिए । सोही छलफलमा कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान पनि सहभागी थिए ।

दिउँसोको साढे १ बजेको थियो । ब्रिक्स क्याफेको पहिलो तलामा सञ्चारमाध्यमका सम्पादकहरूको छलफल चलिरहेको थियो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा सम्पादकहरूको छलफल चलिरहेको थियो । त्यही समय तल्लो तलामा रहेका हरिवंशलाई सिरोहिया पक्राउको विषयमा प्रतिक्रिया दिन कान्तिपुर टेलिभिजनका पत्रकारले आग्रह गरे ।

भिडियोमा हरिवंशले कैलाशलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका थिए । “२०४६ देखि ०६२÷०६३ को आन्दोलनसम्म जुनजुन मुभमेन्ट भए त्यसबेला कान्तिपुर पब्लिकेसन र विशेषगरी कैलाश सिरोहिया र हामी सँगैसँगै अभियानमा लागेको हो,” उनले भनेका थिए, “अहिलेको ओपन परिस्थितिको वातावरण नेपालको प्रेसजगतले पनि गरेको हो । कैलाशजी र कान्तिपुर मिडियाको ठूलो हात छ । अब यो अदालतको कुरा भयो । अदालतमा को केस पुगिसक्यो । मलाई जहाँसम्म लाग्छ अदालतले निर्दोष सावित गर्छ होला र उहाँको रिहाइ हुन्छ ।”

हरिवंशले बोलेको केही समयमै अस्ट्रेलिया भ्रमणका विषयमा छलफल गर्न मदनकृष्ण श्रेष्ठ आइपुगे । उनीहरूले मदनकृष्णसँग पनि कैलाश सिरोहियाको पक्राउका विषयमा बोल्न आग्रह गरे । मदनकृष्णले गृहमन्त्री रवि लामिछानेले कैलाशलाई पक्राउ गरेर राम्रो नगरेको प्रतिक्रिया दिए ।

“कैलाश सिरोहिया जस्तो व्यक्तिलाई यस्तो प¥यो । सुन्दा पनि मिठो लाग्दैन । सञ्चार क्षेत्रमा यो नमिठो अवस्था आयो । रामायणमा रामले लक्ष्मणलाई राजनीति भनेको के हो भनेर साध्दा रावणसँग गएर सोध भन्छ,” मदनकृष्णले भने, “राजनीतिमा साम, दाम, दण्ड, भेद हुन्छ । तर रविजीको तरिका ठिक भएन । मुद्दा अदालतमा गएको छ । अदालतले राम्रै फैसला गर्ला ।”

महजोडीको यही अभिव्यक्तिलाई लिएर अहिले विवाद भएको छ । आफूहरूले गल्ती गरेको भन्दै अहिले अस्ट्रेलियामा रहेका उनीहरूले एक भिडियोमार्फत माफी मागेका छन् । भिडियोमा उनीहरूले अदालतमा विचाराधीन विषयमा बोल्नु नै गल्ती भएको बताएका छन् ।

मदनकृष्ण श्रेष्ठले अस्ट्रेलिया भ्रमणका विषयमा आफूहरू ब्रिक्स क्याफेमा बसेर छलफल गरिरहेका बेला बिना तयारी अपर झट बोल्दा कमजोरी भएको बताएका छन् । तयारी नगरी बोल्नु नै गल्ती भएको उनको भनाइ छ ।

हरिवंश आचार्यले माफी माग्दै अदालतमा विचाराधीन विषयमा आफूहरूले टिप्पणी नगरेको भए पनि हुने थियो भनेका छन् । “अदालतमा विचाराधीन विषयमा नबोलेको भए पनि हुन्थ्यो । हामीबाट त्रुटि भयो । हामीलाई यत्रो वर्ष माया गरिदिनुभयो । हामीलाई आफ्नै सम्झिएर यो पटक सबै कुरा बिर्सिए हामीलाई माफी गरिदिनुहोला,” हरिवंश आचार्यले भनेका छन् ।

महजोडी गत बिहीबार ‘मह जात्रा’ कार्यक्रमका लागि अस्ट्रेलिया गएका छन् । आधा दर्जन सहरमा कार्यक्रम गरेर एक महिनापछि उनीहरू नेपाल फर्किनेछन् ।

    सम्बन्धित समाचार...