प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक बिहान १ बजे बस्दै छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।
प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।
त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरी गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।
हाल सरकारमा एमाले, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी छन् ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम भए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् चल्न नदिने चेतावनी दिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने कांग्रेसको चेतावनी छ ।
कांग्रेससँगै अन्य विपक्षी दलहरुले पनि सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको मागमा सहमति जनाइसकेका छन् । कांग्रेस संसदीय दलको बैठक पनि आजै बिहान ९ बजे बस्दै छ । संसदीय दलको बैठकमा संसदमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।