१९ बैशाख २०८२, शुक्रबार

औसतभन्दा बढी पानी पर्ने यस वर्ष, सरकारको के छ तयारी ?

Biratnagar Airport flood1634701230
फाइल फोटो

यस वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । यसको अर्थ बाढी-पहिरो र डुबानका घटना पनि बढ्न सक्छन् । तर, क्षति न्यूनीकरणका लागि सरकारले पर्याप्त तयारी गरेको छैन । न त अघिल्लो वर्ष विपतमा परेकाहरुको नै पुनर्स्थापना हुन सकेको छ । हरेक वर्ष वर्षाका कारण ठुलो धनजनको क्षति हुने गरेको छ ।

राज्यको एउटा निकायले बढी वर्षा हुने प्रक्षेपण गरिसकेपछि अन्य निकायहरु सम्भावित जोखिम न्यूनीकरणको तयारीमा लागि हाल्नुपर्ने हो । तर त्यसो नहुँदा हरेक वर्ष धनजनको क्षति हुने गरेको छ ।

गत वर्षको बाढीले सप्तरीका १८ वटै पालिका डुबानमा परे । यहाँसम्म कि महुलीसहितका खोला-नदीमा थुप्रिएको बालुवा अझै हटाउन सकिएको छैन । यस वर्ष पनि वर्षायाममा बाढीले डुबाउने हो कि भन्ने चिन्ता स्थानीयमा छ । तर पालिकाको जोखिमसँग जुझ्ने तयारी त्यति सन्तोषजनक छैन । ‘३० लाख रुपैयाँ विपतका लागि राखेका छौं । योमध्ये त्रिपाललगायत केही सामाग्री किनेका गरेका छौं । लाइफ ज्याकेट पनि ११५ पिस छ,’ सप्तरीको हनुमाननगर कंकालिनी नगरापालिका प्रमुख वीरेन्द्रकुमार माझीले बताउनुभयो ।

गृह मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष बाढी-पहिरोजस्ता विपद्का ७६९ वटा घटना भएका थिए । ती घटनामा ६३ जनाको मृत्यु भयो भने झन्डै ६ हजार परिवार प्रभावित भए । जल तथा मौसम विज्ञान विभागले यसपटकको मनसुन याममा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ । यस वर्ष ३५ देखि ५५ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना रहेको विभागकी सूचना अधिकारी विभूति पोखरेलले जनाउनुभयो ।

‘अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । कोशी, मधेस प्रदेशका केही भूभाग, बागमती प्रदेश र सुदूरपश्चिमको उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना देखिएको छ,’ उहाँले भन्नुभयो ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावनाको अर्थ हो, बाढी-पहिरोजन्य विपद्को जोखिम पनि बढी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढी वर्षा हुने अनुमानसँगै पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माणमा जुटेको प्रवक्ता डिजन भट्टराई बताउनुहुन्छ । ‘मौसम पूर्वतयारी तथा राष्ट्रिय कार्ययोजना निर्माणको अन्तिम चरणमा छौं । यसको कार्ययोजनाभित्र संघीय प्रदेश र स्थानीय सरकार सबैको आ-आफ्नो भूमिकालाई स्पष्ट गरिनेछ,’ उहाँले भन्नुभयो, ‘संघीय सरकारको पनि विभिन्न मन्त्रालयहरु जसले यी प्रतिकार्यमा प्रभावकारी रुपमा कार्य सञ्चालन गर्नुहुन्छ- उहाँहरुको भूमिका र तयारी जनशक्ति परिचालन योजना सबै कार्ययोजनामा राखिन्छ ।’

उहाँले कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिए बढी वर्षा भए पनि व्यवस्थापन गर्न सकिने दाबी गर्नुभयो । तर यसपालिको बाढिपहिरोसँग जुझ्न अहिले नै काम थालिहाल्नुपर्ने बेला भएको छ । सरकार भरखर कार्यजना बनाउन लागेको छ । तर विपत् व्यवस्थापन विज्ञ सूर्यबहादुर थापा भने हरेक वर्ष बन्ने यस्ता कार्ययोजना कार्यान्वयन नहुने जिकिर गर्नुहुन्छ ।

हाम्रो मौसमी चक्रअनुसार पनि हरेक वर्ष कुन बेला कस्तो विपत् आइलाग्छ आँकलन गर्न सकिन्छ । त्यसमाथि जल तथा मौसम पूर्वानुमान विभागले यसपालि बढी वर्षा हुने घोषणा गरिसकेपछि त बाढी-पहिरो आउने सम्भावना छ । यसमा संघ, प्रदेश र स्थानीय तहले एकीकृत रुपमा जोखिम न्यूनीकरणको कार्ययोजना तयार पारेर काम थाल्नुपर्छ ।

    सम्बन्धित समाचार...