१५ चैत्र २०८०, बिहीबार

ओली–प्रचण्ड वार्ता : समाधान खोज्‍ने सहमति

oli prachanda

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरू खोज्ने सहमति भएको छ। सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षबीच पुनः छलफल गर्ने सहमति भएको छ ।

आइतबार साक्षी समेत राखेर भएको छलफलमा समाधान खोज्न दुवै पक्ष सहमत देखिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो ।

वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए ।

पार्टी र सरकार सञ्चालनका सन्दर्भमा देखिएको अन्तरविरोध हलक्कै बढेर विभाजनको सन्निकट पुगेपछि नेकपाहरू असमझदारीको बीचबाट सहमति खोज्ने प्रयास थालेका हुन् । उनीहरूले विभिन्न विकल्पबाट साझा विन्दुको खोजीको जुटेका हुन् ।

छलफलमा दुवै समूहका नेताहरू पार्टी एकतालाई बचाउन सहमत देखिएको र दुवैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरू रोक्न सहमत भएका छन् । छलफलपछि एक नेताले भने, ‘एकापसमा आशंका र दुरी बढाउने क्रियाकलापहरू रोक्ने सहमति भएको छ । विगतमा भएका समझदारीहरूका आधारमा पार्टी एकताको आधार तयार पार्न दुवै अध्यक्ष सहमत देखिनुभएको छ ।

“दुवै अध्यक्षहरू विषयमा प्रवेश गर्नुभएको छ,” छलफलमा सहभागी एक नेताले भने, “तिक्तता असाध्यै झाँगिइसकेको थियो । आजको बैठक तुलनात्मक रूपम सौहार्द भयो ।”

यसका लागि सोमबार बिहान स्थायी कमिटीको बैठकअघि पुनः दुई अध्यक्षबीच छलफल हुने एक नेताले बताए ।

उनका अनुसार भोलिबिहान बैठक बसेर थप छलफल गर्ने समझदारी जुटेको छ । त्यतिञ्जेल दोस्रो पक्षका नेताहरू बसेर सहमतिको प्रस्ताव तयार पार्ने अनौपचारिक सहमति भएको नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने ।

बैठकका साक्षी बसेका हैसियतले ओलीका तर्फबाट ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलले भूमिमा खेल्ने र प्रचण्डका तर्फबाट जनार्दन शर्मा र वर्षमान पुनले सहमतिको विन्दु खोज्न सघाउने दुई अध्यक्षबीच समझदारी भएको पौडेलको भनाइ छ ।

“उहाँहरू आज थप छलफल गर्नुहुन्छ,” उनले भने, “हामीले अध्यक्ष प्रचण्डलाई भेटेरै एकताका लागि जोड दिनुस् भनेका छौं । अरू नेताले भूमिका खेलिराख्नु भएको छ । आजको छलफलले पनि संवादको ढोका खोलेको छ,” उनले भने ।

प्रधानमन्त्रीको प्रेस सल्लाकार सूर्य थापाले पनि बैठक सौहार्द बनेको र विषयमा प्रविष्ट भएको जानकारी दिए । दुवै पक्षका नेताहरू बसेर सहमतिका विकल्पहरू तयार पारेपछि भोलि दुई अध्यक्ष बस्ने र थप छलफल गर्ने समझदारी जुटेको छ । त्यसपछि स्थायी कमिटीको बैठक बस्ने उनले बताए ।

सरकारले पार्टी फुटाउने अध्यादेश ल्याउने हो कि भन्ने प्रचण्ड–माधव पक्षमा आशंका छ भने बहुमतले प्रधानमन्त्रीबाट हटाउने हो कि भन्ने चिन्ता ओली पक्षलाई छ ।

तर सोमबारको छलफलबाट अब यस्ता आशंका जन्माउने काम नगर्ने सहमति भएको नेताहरूले बताएका छन् ।

त्यसैगरी आपसमा दुरी बढाउने गरी सडकमा जुलुस प्रदर्शन र एकअर्कालाई सार्वजनिक गाली गलौज गर्ने कार्यहरू पनि रोक्ने सहमति भएको छलफलमा सहभागी नेताले बताए ।

वार्तामा सहभागी महासचिव विष्णु पौडेलले भने दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र सोमबार स्थायी कमिटी बैठकअघि पुनः दुई नेता बसेर कुराकानी गर्ने बताए । उनले यसबीचमा कुनै कार्यदल गठन नभएको र दुई अध्यक्षबीचको वार्ता जारी रहेको बताए ।

पौडेलले भने–’दुई अध्यक्षबीचको छलफल जारी छ । आजको वार्ता सकारात्मक भएको छ । भोलि फेरि उहाँहरुबीच वार्ता हुन्छ ।’