२४ बैशाख २०८१, सोमबार

वामदेव गौतम भन्छन्- प्रचण्ड गठबन्धनको चक्रब्यूमा फसे

prac bam

नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चक्रब्यूमा फसेको टिप्पणी गरेका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई अगाडि बढ्न पनि नदिएको र पछाडि हट्ने अवस्था पनि नरहेको बताएका हुन् ।

‘प्रचण्डजी गठनबन्धनको चक्रब्यूमा पर्नुभएको छ । त्यो गठबन्धनले उहाँलाई स्वतन्त्रपूर्वक अगाडि बढ्न पनि दिँदैन, पछाडि हट्न पनि दिँदैन ।…अहिलेको गठबन्धन नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नेतृत्वको गठबन्धन हो यो ।’ उनले भने, ‘त्यो गठबन्धनको नेतृत्वमा उहाँ हुनुहुन्न कांग्रेस छ । जे–जे भन्छ त्यो गर्नुपर्छ । त्योभन्दा बाहिर गएर गर्नसक्ने क्षमता छैन । चक्रब्यूमा पर्नुभएको छ । उम्किन सक्ने अवस्था पनि छैन उम्किन पनि चाहनुहुन्न । केपी ओलीले भनेको जस्तो पनि होईन, सरकार जेनातेना चलेको छ ।’

समाजवाद निर्माणका निम्ति प्रधानमन्त्री प्रचण्डले आफ्नो स्पष्ट धारणा बनाउन नसकेको उनको आरोप छ । आजको परिस्थितिमा कस्तो समाजवाद ? भन्नेबारेमा प्रधानमन्त्री प्रचण्ड अलमलमा रहेको उनको टिप्पणी छ । साथै, नेपाली कांग्रेसले वीपी कोइरालाको निधनसँगै समाजवादलाई परित्याग गरिसकेको उनको दाबी छ । उनले कांग्रेसको नेतृत्वमा अब समाजवादको कल्पना गर्न नसकिने पनि बताए ।

साथै, नेकपा (एमाले) अध्यक्ष केपी ओलीले भनेजस्तो अहिले सरकार परिवर्तन र मध्यावधिको सम्भावना नरहेको उनले बताए । एमालेलाई सरकारमा जान मन लागेको छ भन्दैमा अहिल्यै मध्यावधि वा सरकार परिवर्तनको पक्षमा वहस गर्नु गलत हुने उनको दाबी छ ।

‘मध्यवाधि पनि हुँदैन । सरकार परिवर्तन भर्खरै हुँदैन । एमालेले भनेर हुन्छ र, एउटा उखान छ– कसलाई जाडो भयो भनेर आधा रातिमा घाम त लाग्दैन नि । एमालेलाई सरकारमा चाँडै जानुछ, त्यसकारण भन्छ होला,’– नेता गौतमले भने ।

उनले देशमा आशा गर्ने आधार नभएर नेपाली युवाहरु लडाईँ भइरहेको देशको सेना बन्न गएको बताए । अहिले केपी ओलीनै प्रधानमन्त्री भएको भएपनि युवाहरुलाई रोक्न सक्ने अवस्था नरहेको उनले बताए ।