२४ बैशाख २०८१, सोमबार

एआईबाट नक्कली भिडियो बनाएपछि अदितीको गुनासो–‘मेरो चरित्र हत्या गर्ने प्रयास भैरहेको छ’

aditi budhathoki

अदिती वुढाथोकीले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छिन् । अदितीले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्वीर र भिडियो सेयर गरेर दुःख दिने काम भएपछि आपत्ति जनाएकी हुन् ।

अदितीले एआईको दुरुपयोग गरेर नक्कली भिडियो तयार पारिएको र त्यसलाई स्न्यापच्याटबाट शेयर गरेर आफूलाई दुःख दिने काम भइरहेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा एआईका तस्वीर व्यापक सेयर भएपछि फ्यानहरुलाई यसको जानकारी दिदैँ आफ्नो आधिकारिक पेजलाई मात्र आधार मान्न आग्रह गरेकी छिन् । अदितिले आफूलाई यस्तो गलत कार्यको विरुद्धमा साथ दिन आफ्नो २० लाख भन्दा बढी इन्स्टाग्रामका फलोअर्ससँग आग्रह पनि गरेकी छिन् । 

अदिती लेखेकी छिन्–‘अरु मानिसहरूलाई खसाल्न केही मान्छेहरूले गरेको प्रयास देख्दा मलाई निकै दुख लागेको छ । लामो समयदेखि मैले यस्तो हर्कत र प्रयासको सामना गरिरहेको छु । मैले यसलाई रोक्ने प्रयास पनि गरिरहेकी छु । नक्कली स्न्यापच्याट आइडीबाट यस्तो काम भइरहेको छ । साथै, एआई र अरू गलत भिडियोको माध्यमबाट मेरो चरित्र हत्या गर्ने काम भइरहेको छ ।’

पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर बनाइएका भिडियो र तस्वीर सेयर गर्ने क्रम बढेको छ । यसको मारमा नाम चलेका बलिउड अभिनेत्रीहरु रश्मिका मन्दाना, आलिया भट्ट र काजोल एआईद्वारा निर्मित डीप–फेक भिडियोको सिकार बनिसकेका छन् ।

    सम्बन्धित समाचार...