२७ बैशाख २०८१, बिहीबार

पर्यटन बोर्डभित्र ‘खुम्लेकिरा’ रहेको मन्त्री सुदन किरातीको टिप्पणी

Sudan Kirati
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन बोर्डभित्र ‘खुम्लेकिरा’ रहेको टिप्पणी गरेका छन् ।

बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनका निम्तिअघि बढ्ने प्रतिबद्धता जनाए । पर्यटन ऐन नहुँदा पर्यटन क्षेत्रमा समस्या थपिएको उनको भनाइ थियो । ‘हामीले अहिलेसम्म हाम्रो देशमा संस्कृति ऐन बनाउन सकेका छैनौँ । हामीले ३५ सालको पर्यटन ऐन बोकेर बसेका छौँ,’ उनले भने, ‘पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजानु छ । हुन त त्यहाँभित्र खुम्लेकिराहरु छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनको निम्तिअघि बढ्नेछौँ ।’

उनले नेपाली वायु सेवा कम्पनीलाई युरोपियन युनियनको कालोसूचीबाट हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको जनाए । उनले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस भइरहेको जनाउँदै जहाज खरिद प्रक्रिया अन्तिम चरणतिर रहेको जानकारी दिए ।

उनले धेरैभन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको जनाउँदै जहाज खरिदको विषयमा नकारात्मक ढंगले टिप्पणी गर्नेहरु देशभक्त हुन नसक्ने जिकिर गरे । ‘हाम्रो देशको आकाशको कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनको निम्ति केही कदमहरु हामीले उठाइसकेका छौँ । हामी छिटै परिणाममा पुग्नेछौँ,’ उनले भने, ‘हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस गरिरहेका छौँ । निगमद्वारा हामी जहाज खरिद गर्ने अन्तिम चरणतिर छौँ । पर्यटनको निम्ति जहाज हो, जुन देश समुद्रसँग जोडिएको छैन, त्यो देशको जहाज मेरुदण्ड हो ।’

    सम्बन्धित समाचार...