एक भगवत् गीताको नाम ‘एक भागवत् र एक गीता’ राख्ने सहमति भएपछि टुंगियो विवाद
भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’को शीर्षक परिवर्तन गर्ने सहमतिसँगै नामलाई लिएर उत्पन्न विवादले किनारा पाएको छ । आइतबार दिउँसो चलचित्र विकास बोर्डमा फिल्मकर्मी, फिल्मको टिम र हिन्दूवादी संस्थाका प्रतिनिधिहरुबीच भएको २ घण्टा लामो छलफलबाट फिल्मको नयाँ शीर्षक ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राख्ने सहमति जुटेको हो ।
हिन्दू धर्मग्रन्थ ‘श्रीमद्भागवत गीता’को नाममा फिल्म बनाएको भन्दै हिन्दूवादी संस्थाहरुले आपत्ति जनाएका थिए । र, फिल्मको नाम परिवर्तनको माग राख्दै बोर्ड र सूचना मन्त्रालयमा निवेदन समेत बुझाएका थिए । यसपछि बोर्डले दुई पक्षबीचको विवाद मिलाउन तत्काललाई फिल्मको सेन्सर सिफारिस रोकेको थियो । विवाद मिलेसँगै आइतबार नै फिल्मले सेन्सर सिफारिस पाउने भएको छ ।
फिल्मको नयाँ शीर्षक निर्देशक दीपेन्द्र के. खनालले जुराएका हुन् । नामलाई लिएर सहमति जुट्न नसकिरहँदा उनले ‘एक भागवत् एक गीता’ शीर्षक सिफारिस गरेका थिए । त्यसमा हिन्दूवादी संस्थाका प्रतिनिधिहरु सकारात्मक देखिए । र, उनीहरुले शीर्षकमा ‘र’ थप्नुपर्ने तथा ब्राकेटभित्र सामाजिक कथा लेख्नुपर्ने सर्त अघि राखे । त्यसमा निर्माण टिम सहमत भएपछि विवाद सल्टिएको हो ।
छलफलको क्रममा आधा दर्जन बढी शीर्षक सिफारिस भएका थिए । ‘एक भागवत् र एक गीताको प्रेमकथा’, ‘एक भागवत् र एक गीताको कथा’, ‘एक गीता भगवत्’, ‘एक भागवत्’ या ‘एक गीता’, ‘अर्को भागवत् गीता’, ‘एक भागवत्-गीता’ आदि नाम सिफारिस भएको थियो । नयाँ शीर्षकमा सहमति जुटेपछि बोर्ड अध्यक्ष भुवन केसीले दुवै पक्षलाई खादा लगाएर धन्यवाद व्यक्त गरेका थिए ।
दुई पक्षबीच भएको सहमतिले भोलि हुनसक्ने ठूलो दुर्घटना टरेकोमा अध्यक्ष केसीले खुसी व्यक्त गरे । ‘सहमति नभएको भए भोलि ठूलो दुर्घटना पनि हुन सक्थ्यो । त्यो नहोस् भन्नकै लागि बोर्डले सहमतिको प्रयास गरेको थियो,’ उनले भने, ‘बोर्डले सेन्सर सिफारिस रोकेका थिएन र रोक्न पनि मिल्दैन । दुई पक्षबीच विवाद उत्पन्न भएपश्चात् अभिभावक संस्थाले आफ्नो भूमिका निर्वाह गरेको हो ।’
फिल्मको टिम र हिन्दूवादी संगठनबीचको छलफलमा निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार दीपकराज गिरी, निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने, निर्माता तथा निर्देशक कृषा चौलागाईं लगायतको उपस्थिति रहेको थियो । छलफलमा हिन्दूवादी संगठनका प्रतिनिधिहरुले बोर्ड अध्यक्ष भवन केसीको संयमता र धैर्यताले नै सहमतिको वातावरण बनेको भन्दै प्रशंसा गरेका थिए ।