२४ बैशाख २०८१, सोमबार

नेप्से सूचक २९.८१ अंकले घट्याे

share bajar stock

सेयर बजार आइतबार २९.८१ अंकले घटेर १९६०.७८ अंकमा अडिएको छ ।

दोस्रो बजार घट्नु बढ्नुलाई स्वाभाविक नै मान्नु पर्छ। तर साताको पहिलो दिन नै २९ अंक भन्दा बढीले घट्ने क्रमले पुनःआइतबार निरन्तरता पाएकाे छ। गएको तीन आइतबार लगातार २९ अंक भन्दा बढीले सूचक घटेको छ। आज १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

लामो समयदेखि १९९० विन्दुभन्दा तल झर्न नसकेको नेप्से सूचक आइतबार उक्त विन्दुको सपोर्टलाई पनि छाडेर थप तल आएको हो । बजार यसअघि साइडवेजमा थियो ।

धेरै दिनसम्म नेप्से १९९० विन्दुकै आसपासमा घुमिरह्यो । तर, दिनहुँको प्रयासपछि पनि माथि जान नसकेपछि अन्ततः आइतबार सूचकले १९९० को सपोर्टलाई पनि छाडेको हो ।

पछिल्ला दिनहरुमा लगातारजसो सूचक तल झरिरहेको छ भने कारोबार रकम पनि सुस्त बनेको छ । बैंकहरुले सेयर कर्जा दिन थाले पनि त्यसको सकारात्मक प्रभाव अहिलेसम्म बजारमा देखिएको छैन ।

यस दिन २७६ कम्पनीको ४० लाख ५३ हजार कित्ता सेयर कारोबार भएको छ । ३ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्याेरेन्स र सिटी होटेल परेका छन् ।

आइतबार सूचक घट्दै गर्दा लगानीकर्ता समेत अत्तालिन थालेका छन्। हप्ताको पहिलो दिन नै भारी अंकले सूचक घट्दा त्यसको प्रभाव हप्ता भरिनै देखिन थालेको छ। जसले सूचकलाई थप तल लैजान टेवा दिँदै आएको छ।

    सम्बन्धित समाचार...