२० बैशाख २०८२, शनिबार

‘एैँचो पैँचो’को आक्रामक प्रचार, बक्स अफिसमा कस्तो पर्ला प्रभाव ?

Aicho Paicho Artist 2

आगामी भदौ १४ गतेबाट रिलिज हुने कृषा चौलागाई निर्देशित फिल्म ‘ऐंचो पैंचो’ टिम फिल्मको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । टिकटकदेखि मिडिया अन्तर्वार्तासम्ममा यसका कलाकार र निर्देशकलाई भ्याइनभ्याइ छ ।

कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं यतिबेला मिडिया अन्तर्वार्तामा व्यस्त छन् । टेलिभिजन, रेडियो, अनलाइनदेखि युट्युब च्यानलमा अन्तर्वार्ता दिइरहेका छन् ।

निर्देशक कृषाका अनुसार ‘ऐंचो पैंचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित फिल्म हो । यसमा समाजमा हुने राजनीति पनि छ । युवामा राजनीतिले पारेको प्रभाव र असर पनि छ । तर, सिनेमा राजनीतिमा मात्रै केन्द्रित नभएको उनले बताउँदै आएकी छन् । राजनीति फिल्मको एउटा लेयर मात्रै भएको उनले स्पष्ट पारेकी छन् ।

समाजबाट राजनीति अलग हुन नसक्ने र चाहेर पनि कोही यसबाट भाग्न नसक्ने उनी बताउँछिन् । त्यही नै फिल्ममा समेटिएको कृषाको भनाइ छ ।

नेकपा एकीकृत समाजबादीका नेता प्रेम आलले ‘ऐंचो पैंचो हेर्ने पर्ने फिल्म भएको बताएका छन् । ‘ऐंचो पैंचो’ले राजनीतिक दलका नेताहरूलाई सच्चिन सन्देश दिने बताएका छन् ।

‘पोलिटिकल इज अ डर्टी गेम’ भन्ने भनाइ रहेको अवस्थामा खराब बाटोमा रहेका राजनीतिकर्मीलाई पनि सच्चिन यो फिल्मले सन्देश दिनमा आफू ढुक्क रहेको उनले बताएका छन् ।

नेता आलेले पछिल्लो समय नेपालको राजनीतिक अस्थिरतालाई सिनेमाले उठाउन थालेको र यो राम्रो पक्ष भएको बताएका थिए । निर्माण पक्षले उनलाई ट्रेलर सार्वजनिक कार्यक्रममा बोलाएको थियो । यो पनि निर्माण पक्षको सिनेमा प्रचारको नयाँ रणनीति थियो ।

फिल्मका निर्माता विशाल चौलागाईले विदेशका धेरै देशका लागि फिल्मको राइट्स बिक्री भइसकेको भन्दै उनले नेपालबाटै लगानी सुरक्षित गर्ने बताए । उनले राजनीतिक दलका नेतासँग फिल्मको कुनै सम्बन्ध नरहेको भन्दै समाजको कथासँगै केही राजनीतिक विषय पनि समावेश भएको बताएका छन् ।

स्वस्तिमाले राजनीतिमा आवद्ध व्यक्तिहरूलाई पनि फिल्म हेर्न आग्रह गरेकी छन् । फिल्मको प्रिमियर तथा कार्यक्रमहरूमा नेताहरूलाई आफूले देख्ने गरेको भन्दै उनले हलमा गएर पनि फिल्म हेर्न आग्रह गरेकी हुन् ।
अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो चरित्र फिल्ममा छोटो भए पनि पावरफुल भएको उनको भनाइ छ ।

यसका कलाकारदेखि निर्देशकले फिल्म प्रचारका लागि कुनै पनि प्लेटफर्मलाई छाडेका छैनन् । यसैले, प्रचारको असर बक्स अफिसमा कस्तो देखिएला भन्ने अड्कलबाजी पनि सुरु भएको छ । किनकी, पछिल्लो समयमा दर्शकले फिल्मको ट्रेलर, मेकर र कलाकारलाई हेरेर फिल्म रोज्ने गरेका छन् ।

अभिनेता मुकुन भुसालले आफूलाई स्क्रिप्ट राम्रो लागेकाले काम गरेको बताएका छन् । भदौ १४ गतेबाट प्रदर्शन हुने सिनेमा सेन्सर पास पनि भइसकेको छ । सिनेमालाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । सबै उमेर समूहका दर्शकले सिनेमा हेर्न पाउने छन् ।

फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । फिल्ममा एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।

फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माता रहेका छन् ।

    सम्बन्धित समाचार...