५ जेष्ठ २०८१, शनिबार

कोशीमा बहुमतको सकसः सभामुखलाई राजीनामा गराउने तयारी

baburam gautam

सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनका आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङ्गले हिजो (शुक्रबार) आगामी साउन १६ गतेसम्मको समय सीमा दिएर संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई दाबी गर्न भनेका छन् ।

तर, कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दल र प्रतिपक्षमा रहेका दलबीच बराबरी सदस्य रहँदा सरकार गठनमा सकसको अवस्था आएको छ । कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का ४० जना सदस्य रहेका छन् । त्यस्तै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ सिट रहेको छ ।

कूल ९३ प्रदेश सभा सदस्यमा सभामुख बाहेक सत्ता गठबन्धनका दलहरुसँग पनि ४६ सिट नै रहेको अवस्था छ । सर्वोच्चले सभामुखले प्रदेश सभा सदस्यको हैसियतमा पनि काम गर्न नमिल्ने व्याख्या गरिसकेपछि सत्ता गठबन्धनका दलहरु सभामुखको राजीनामको तयारीमा छन् ।

आज विहान बसेको कोशी प्रदेश सत्ता गठबन्धन दलको बैठकमा सभामुखको राजीनाका विषयमा छलफल भएको कोशी प्रदेश सभा कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले बताए । सरकार बनाउने कुरामा माओवादी सकारात्मक रहेको उनको भनाई छ ।

‘आज विहानको बैठकमा सामान्य छलफल भएको छ । उहाँहरु सरकार बनाउनका लागि सकारात्मक नै हुनुहुन्छ,’– पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

सभामुखले राजीनामा दिँदा बहुमत पुग्छ ?

नेपालको संविधानको धारा १८२ को उप धारा ६ (ख) अन्तरगत सभामुखले राजीनामा दिन सक्ने छ । सभामुख अनुपस्थित भएको अवस्थामा संविधानको धारा १८६ (४) अन्तरगत रहेर उप सभामुखले सभा सञ्चालन गर्ने छन् ।

कोशी प्रदेश सभा नियमावली संशोधन सहित को नियम १६९ (१) मा सभामुखले उप सभामुखलाई सम्बोधन गरी पदबाट राजीनामा दिनु पर्ने व्यवस्था रहेको छ ।

यसरी दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले सभामा पढेर सुनाउनु पर्ने व्यवस्था नियमावलीले गरेको छ । यदि प्रदेश सभा चालु नरहेको अवस्थामा सूचना पत्रमा प्रकाशन गरी त्यसको प्रचार प्रसार समेत गर्नु पर्ने व्यवस्था छ ।

कोशी प्रदेशमा उप सभामुख पदमा एमालेबाट निर्वाचित भएका छन् । प्रदेश सभाका सभामुख बाबुराम गौतमले उप सभामुख सृजना दनुवारलाई राजीनामा दिएको अवस्थामा कोशी प्रदेश सभामा माओवादीको सदस्य सङ्ख्या १३ हुने छ ।

माओवादीको १३ सदस्य गणना भएसँगै सत्ता गठबन्धनलाई सरकार गठनमा बहुमत पुग्ने छ । सभामुखले राजीनामा दिएको अवस्थामा उप सभामुखले सभा सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ ।

उप सभामुखले पनि राजीनामा दिए के हुन्छ ?

कोशी प्रदेश सभामा सरकार गठनका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनसँग एक सिट कमी हुँदा दिगो सरकार सञ्चालनमा समस्या देखिएको छ ।

सभामुखले राजीनामा दिएर सरकार गठनका लागि बहुमत पुगे पनि विश्वासको मत लिने अवधिमा उप सभामुखले पनि राजीनामा दिए पुन नयाँ सरकार पनि ढल्ने निश्चित छ ।

उप सभामुखले सभा सञ्चालन गरेको अवस्थामा विश्वासको मत लिने दिन सत्ता गठबन्धनको सदस्य सङ्ख्या ४७ पुग्ने निश्चित छ । तर विश्वासको मत लिने मिति अगावै उप सभामुखले राजीनामा दिए सत्ता गठबन्धनलाई समस्या हुने देखिन्छ ।

नेपालको संविधानको धारा १८२ को उप धारा ५ मा सभामुख र उप सभामुखको निर्वाचन नभएको अवस्था वा दुवै पद रिक्त रहेको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ ।

कोशी प्रदेश सभामा ज्येष्ठ सदस्य गयानन्द मण्डल हुन् । उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका हुन् ।

    सम्बन्धित समाचार...