
नेकपा एमालेका अध्यक्ष केपी ओली नेकपा विभाजन भएको साढे दुई वर्षपछि यस विषयलाई ‘इस्यु’ बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध खनिएका छन् । उनले दाहाल एमालेले खर्चमा हिँडेको तर हिसाबकिताब नबुझएको आरोप लगाए ।
भक्तपुरमा हिजो (शुक्रबार) आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष ओलीले भने, ‘दाहालले आफ्नो पार्टीको बैठक सधैँ अलग नै गरिराखे । आफ्नो कार्यालय जीवितै राखे । आफ्नो हिसाबकिताब बुझाएनन्, रकम कहिल्यै बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, एमालेको रकम पिए, सबै गरे । एमालेमा एक पैसा दाखिल गरेनन् ।’
माओवादीसँग वास्तविक एकता नै नभएको ओलीले दाबी गरे । उनले भने, ‘माओवादीसँग एकता भनिए पनि हुँदै भएन । कतिवटा संगठन नै एकता भएन । भए पनि तेल एकातिर पानी एकातिर । मिश्रण हुनै दिइएन ।’
दाहालले पार्टी कब्जा गर्न नसके अलग हुने मनासायले नै एकता गरको उनको आरोप छ । सोही कारण पार्टी एकताको समयमा दाहालले पार्टी कार्यालय र आफ्ना संगठनलाई जीवित नै राखेको उनको तर्क छ ।
यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालमा आफ्नो नीजि कुराभन्दा पनि पार्टीका कुरा र गतिविधि लेख्न आग्रह गरेका हुन् ।
‘पार्टीको पक्षमा बोल्ने अभ्यास गरौं क्या । ‘खोई के भएको हो पेट दुखेजस्तो भयो’ फेसबुक स्टाटस । ‘के खाउँ होला ? पेट दुखेजस्तो भयो’ फेसबुक स्टाटस । ‘एउटा साथीले इनो आउ भन्यो र खाएँ, अलिराम्रो जस्तो भयो’ स्टाटस । के अर्थ छ यस्ता कुराको ? पार्टीको पक्षमा स्टाटस लेख्नुस् न । जय एमाले, जय नेपाल, जय देश, जय एमाले, कमसेकम त्यो लेख्नुस् न,’– उनले भने ।