५ जेष्ठ २०८१, शनिबार

कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु

koshi pradesh

उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन प्रक्रियालाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि नयाँ सरकार बनाउन दलहरु सक्रिय भएका छन् ।

सर्वोच्च अदालतले कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गरेपछि कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धनमा रहेका दलले पुन: बहुमत जुटाएर नयाँ सरकार गठनको प्रयास गर्ने बताएका छन् ।

‘गठबन्धन दलभित्र पनि हामी छलफल गर्छौं तर स्वभाविक रुपमा कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ,’ नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले भने, ‘भरखरै आदेश आएको छ । अब हामी गठबन्धन दलहरु आन्तरिक छलफलमा पनि हामी जुट्छौं र बैठक पनि बस्छौं । फेरि पनि सर्वोच्चले दिएको समयसीमाभित्र हामी दाबी पेस गर्छौं ।’

उता प्रमुख विपक्षी नेकपा एमाले पनि आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएको छ । सर्वोच्च अदालतले दिएको समयसीमा भित्रै बहुमत जुटाएर दाबी पेस गर्ने तयारी एमालेको छ । प्रदेशको ठूलो दलको हैसियतले आफूहरुको दाबी स्वभाविक भएको एमाले नेता बताउँछन् ।

‘अर्को सरकार नबन्ने बेलासम्मका लागि तत्कालीन अवस्थामा रहेको मेरो नेतृत्वको सरकारलाई निरन्तरता दिएको छ । सर्वोच्चले आगामी १७ गतेसम्म दुई वा दुईभन्दा बढी दल सहभागी भएको सरकार बन्नका लागि आह्‌वान गर्नका लागि प्रदेश प्रमुखलाई निर्देशन गरेको छ,’ नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले भने । उनका अनुसार अब एमालेले आफ्नो नेतृत्वमा पुन: सरकार गठन गर्नका लागि तयारी गर्छ । कोशी प्रदेशमा ठूलो दलको हैसियत आफूहरुकै रहेकाले पनि स्वभाविक रुपमा सरकारको नेतृत्व पनि आफूहरुले नै गर्ने कार्कीको दाबी छ ।

सर्वोच्चले थापा नेतृत्वको सरकार असंवैधानिक भने लगत्तै कोशी प्रदेशमा गठबन्धन र एमालेले १७ गतेसम्मका लागि कामचलाउ सरकार आफूहरुकै भएको दाबी गरेका छन् । सरकार गठन बदर गरे पनि अदालतले कामचलाउ सरकारबारे प्रस्ट नपार्दा दलहरुले आ-आफ्नो दाबी गरेका हुन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको कोशी प्रदेशमा सरकार गठनका लागि ४७ जनाको समर्थन चाहिन्छ । कुनै पनि दलको एकल बहुमत नभएकाले बहुमत जुटाउन दुई वा दुईभन्दा बढी दलको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राप्रपाका ६, समाजवादीका ४ र जसपाका १ सदस्य छन् ।

    सम्बन्धित समाचार...