१९ बैशाख २०८१, बुधबार

दुई नेपाली स्याटेलाइट अन्तरीक्षमा पठाउने तयारी

Space Mission Nast

नेपालले सन् २०१९ मा पहिलो पटक नानो स्याटेलाइट अर्थात् सानो भूउपग्रह अन्तरीक्षमा प्रक्षेपण गरेको थियो । नासाको सहयोगमा पठाइएको त्यो स्याटेलाइटले ८ सय ४१ दिन अन्तरीक्षमा रहेर केही तस्बिर पठायो । त्यसलाई नेपालको अन्तरीक्ष यात्रामा महत्वपूर्ण उपलब्धि मानिएको थियो । त्यसको चार वर्षपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले अन्तरीक्ष प्रतिष्ठान नेपालको सहकार्यमा डाँफे र मुनाल नामका दुईवटा स्याटेलाइट बनाएर प्रक्षेपणको तयारी गरेको छ ।

अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट नेपाली स्याटेलाइट नानोको सफल प्रक्षेपण गरेको चार वर्षपछि नास्टले अर्को डाँफे नामक स्याटेलाइट प्रक्षेपणको तयारी गरेको हो । नेपाली वैज्ञानिक आभास मास्के, जनार्दन सिलवाल, सिरस सैंजू, श्रीया प्रधान, एलिजा सापकोटा, सुशान्त ढकालसहित नौ जना वैज्ञानिकको टोलीले २ वर्ष लगाएर स्याटेलाइट बनाएका हुन् । यो स्याटेलाइट प्रक्षेपणका लागि भौतिक परीक्षणसमेत गरिसकिएको छ । अत्याधुनिक क्यामेरा जडान गरिएको डाँफे स्याटेलाइट थाइल्याण्डको किङ मोङकुटको विश्वविद्यालयको सहयोगमा दुई महिनाभित्रै अन्तरीक्षमा पठाइने छ ।

डाँफे प्रक्षेपण गरिए नेपाली वैज्ञानिकले नेपालमै बनाएको यो पहिलो स्याटेलाइट हुने छ । यो करिब १ किलो तौलको छ । यसैगरी डाँफे स्याटलाइट बनाएका वैज्ञानिकको प्राविधिक सहयोगमा काठमाडौं विश्वविद्यालय हाइस्कुलसहित काभ्रेका ४ वटा सामुदायिक विद्यालयका विद्यार्थीले मुनाल नामको अर्को स्याटेलाइट पनि बनाएका छन् । यो स्याटलाइट भने भारतको बैंग्लोरबाट प्रक्षेपण गर्ने तयारीका साथ वैज्ञानिकहरुको टोली त्यसतर्फ गएको छ । दुर्इ वर्ष लगाएर बनाइएका दुवै स्याटेलाइटको लागत करिव २ करोड रुपैयाँ छ ।

एउटा स्याटेलाइट प्रक्षेपण गर्न करिव ५० हजार अमेरिकी डलर, अर्थात् करीब ६५ लाख रुपैयाँ लाग्छ । भूउपग्रहको प्रक्षेपणपछि पृथ्वीमा पठाउने तस्बिर प्रशोधनका लागि नास्टले ग्राउन्ड स्टेसनसमेत बनाइसकेको छ । नेपाली वैज्ञानिकले बनाएका यी भूउपग्रह प्रक्षेपणपछि ६ महिनादेखि २ वर्षसम्म अन्तरिक्षमा घुम्ने छन् । डाँफे र मुनालले नेपालका महत्वपूर्ण भूभागका तस्बिर खिचेर पठाउने छन् । यसबाट हिमनदी पग्लिएर हुन सक्ने बाढी, पहिरोलगायतका विषयको अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा नास्टको छ ।

रुसले ६ दशकअघि पहिलो पटक भूउपग्रह अन्तरीक्षमा प्रक्षेपण गरेको थियो । त्यसपछि अहिलेसम्म धेरै देशले आफ्नै स्याटेलाइट अन्तरीक्षमा पठाइसकेका छन् । नेपाली वैज्ञानिकले नेपालमै बनाएको भूउपग्रहको सफल प्रक्षेपण भए नेपालको विज्ञान प्रविधि क्षेत्रको विकासमा कोसेढुंगा साबित हुनसक्छ ।

    सम्बन्धित समाचार...