
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन एकजना सरदारले दिल्ली धाएको विवादास्पद अभिव्यक्ति दिएसँगै उनीमाथि तीव्र आलोचना सुरु भएको छ । यही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । साथै, राप्रपाले पनि प्रधानमन्त्रीको राजीनामा मागेको छ ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले पनि प्रधानमन्त्री दाहाललाई पदमा रहिररहन उपयुक्त नभएको बताउँदै राजीनामा दिनुपर्ने निश्कर्ष निकालेको छ ।
बुधबार नै राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले सांसद देवेन्द्र दाहालले भारतको इशारामा प्रधानमन्त्री बनेको आरोप लगाउँदै प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताए ।
यसैवीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री दाहालको राजीनामा मागेको छ । प्रधानमन्त्रीको पदमा बसेको व्यक्तिले भारतले आफूलाई प्रधानमन्त्री बनाएको भन्न नमिल्ने बताउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कान्तिपुर टेलिभिजनसँग भने, ‘उहाँलाई पदमा रहिरहन नैतिकताले दिँदैन, तत्काल राजीनामा दिनुपर्छ ।’
बुधबार दिउँसो बसेको राष्ट्रियसभाको बैठक विपक्षीको विरोधका कारण अवरुद्ध भएको छ । तीन बजे बस्ने भनिएको प्रतिनिभिसभाको बैठक पनि पछि सरेको छ । प्रतिनिधिसभामा विपक्षीले दलले संसल अवरुद्ध गरेर प्रधाधनमन्त्रीको राजीनामा माग्ने तयारी गरेका छन् ।
के भनेका थिए प्रधानमन्त्रीले ?
प्रधानमन्त्री दाहाल सोमबार साँझ आयोजित पुस्तक विमोचनमा भारतीय राजदूत नवीन श्रीवास्तवसँगै सहभागी बनेका थिए । त्यहाँ किरणदीप सिन्धुले लेखेको ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरकार प्रीतम सिंह इन नेपाल’ नामक पुस्तक विमोचनका क्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिए । दाहालको सोही दिनको अभिव्यक्तिलाई लिएर विपक्षीले उनको राजीनामा मागेका हुन् ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली धाएको प्रधानमन्त्रीले बताएका थिए । सो कार्यक्रममा दाहालले यसो भनेका थिए-
‘नेपाल भारतवीचको जनता जनतावीचको सम्बन्धलाई विकसित गर्न सरदार प्रितम सिंहको योगदान विशिष्ट रहेको छ । यातायात, सामाजिक सेवा, शिक्षा र सामाजिक क्षेत्रमा मात्रै होइन, उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा धेरै पार्टीका नेताहरुसँग लगातार छलफल गर्नुभयो । राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ । म शान्त्छि प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट, फम्फा भुसालसँग उहाँको नजिक घर भएकाले पनि लगातार अन्तरक्रिया सहकार्य हुने गर्यो । र, हामीले नजिकबाट एक अर्कालाई चिन्ने, बुझ्ने, महसुस गर्ने पनि गर्यौं ।’
कीर्तिपुरमा अर्को भाषण : बेलुन फु्ट्नेवाला छ
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार कीर्तिपुरमा आयोजित क्रान्त्किारी विद्यार्थीहरुको कार्यक्रममा आफ्नो अभिव्यक्तिको बचाउँ मात्र गरेनन्, विपक्षीले पूर्वग्रहका कारण आरोप लगाएको समेत बताए । उनले भने, ‘ आज म सुन्दैछु, एउटा शिखको किताब विमोचन गर्दै गर्दा कहिले दिल्ली पुग्नुहुन्थ्यो, कहिले नेपालका पार्टीसँग लाग्नुहुन्थ्यो उहाँ भनेर उहाँका बारेमा भनेको कुरा अब त्यसलाई उचालेर फेरि एकचोटि बबण्डर गर्न खोजिएको छ, मलाई लाग्छ त्यो बेलुन पनि छिटै फुट्वाला छ । त्यसले केही दिनेवाला छैन ।’
प्रधानमन्त्रीले थपे, ‘यसबाट के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ ।’