२० बैशाख २०८१, बिहीबार

एटलान्टिक महासागरमा हराइरहेको टाइटन पनडुब्बीको खोजी जारी, खोज क्षेत्रमा नयाँ ध्वनी सुनियो

Capture.JPG 359

एटलान्टिक महासागरमा आइतबारदेखि हराइरहेको टाइटन पनडुब्बीको खोजीकार्य तीव्र रुपमा जारी रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।

पनडुब्बीको खोजीमा जुटेका उद्धारकर्ताहरुले एटलान्टिक महासागरको करिब २६ हजार वर्ग किलोमिटर क्षेत्रमा खोजीकार्य केन्द्रित गरेका छन् । खोजीको क्षेत्र विस्तार गरी अमेरिकी राज्य कनेक्टिकटको आकारभन्दा दोब्बर आकारसम्म पुर्‍याइएको बीबीसीले उल्लेख गरेको छ ।

अनुसन्धानका क्रममा ध्वनी श्रवण यन्त्र सोनारले थप आवाजहरु सुनेको खोजीकार्य गरिरहेको अमेरिकी तटरक्षक टोलीले जनाएको छ । क्याप्टेन जेमी फ्रेडरिकले ती ध्वनीहरु के हुन् भन्नेबारे अझै यकिन नभएपनि आफ्नो टोलीले खोजी कार्यलाई तीव्रता दिएको बताएका छन् । उनले खोज सफल हुनेमा आफूहरु आशावादी रहेको बताएका छन् ।

यता उक्त पनडुब्बीमा सवार पर्यटकहरुसंग २० घण्टाभन्दा कम समयका लागि मात्रै पुग्ने अक्सिजन रहेको अनुमान गरिएको छ । यसले खोजीकर्ताहरुमा दबाब बढ्दै गएको छ ।

खोजी कार्यमा अमेरिका र क्यानडाका तटरक्षकका साथै फ्रान्सको पानी जहाज पनि प्रयोग गरिएको छ ।

टाइटानिक जहाजको भग्नावेश हेर्न पाँच जना सवार टाइटन पनडुब्बीले यही आइतबार क्यानडाको न्यू फाउण्डल्याण्डको तटबाट समुद्रको करिब साढे १२ हजार फिट मुनि डाइभ हानेको थियो । डाइभ हानेको करिब एक घण्टा ४५ मिनेटपछि उक्त पनडुब्बी र सतहमा रहेको पोलर प्रिन्स नामक पानी जहाजसँग सम्पर्क विच्छेद भएको थियो ।

एक शताब्दीभन्दा अघि अर्थात १५ अप्रिल १९१२ मा इंग्ल्यान्डको साउथह्याम्पटनबाट अमेरिकाको न्यूयोर्कतर्फ जाँदै गर्दा हिउँको ठूलो ढिस्को (आइसबर्ग) संग ठोक्किएर टाइटानिक जहाज उत्तर अटलान्टिक महासागरमा डुबेको थियो । उक्त जहाजमा यात्रु र चालक दलका सदस्य गरी करिब दुई हजार दुई सय २४ मानिस सवार थिए । उक्त दुर्घटनामा १५ सयभन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

    सम्बन्धित समाचार...