२ जेष्ठ २०८१, बुधबार

‘आदिपुरुष’का संवाद लेखक मनोज मुन्ताशिरको दाबी- ‘सीता भारतकै छोरी थिइन्’

NOT AN ERROR Writer Manoj Muntashir Defends Adipurush Dialogues After jpg

फिल्म ‘आदिपुरुष’ प्रदर्शनभन्दा अगावैदेखि विभिन्न कारणले विवादित र आलोचित थियो । प्रदर्शनपछि विवादले थप उग्र रुप लिएको छ । फिल्ममा समावेश संवादको भाषा र पात्रको भेषभुषालाई लिएर भारतमा व्यापक विरोध भैरहेको छ भने सीतासम्बन्धी एक संवादका कारण नेपालमा फिल्म प्रतिबन्धको आवाज उठिरहेको छ ।

फिल्ममा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद छ । यही संवादमा आपत्ति जनाउँदै नेपालको सेन्सर बोर्डले जाँचपासको प्रमाणपत्र समेत दिएको थिएन । जब वितरकले उक्त संवाद ‘म्यूट’ गरे तब फिल्मलाई प्रदर्शन अनुमति दिइएको थियो । तर, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले उक्त संवाद भारतमा समेत नसच्चाए काठमाडौं महानगरभित्र कुनै हिन्दी फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएपछि भारतमा तरंग मच्चिएको छ ।

तर, फिल्मका संवाद लेखक मनोज मुन्ताशिरले जानकी भारतकै छोरी हुन् भनेर दाबी गरेका छन् । आजतकसँगको कुराकानीमा उनले नेपालको राष्ट्रियतामा आघात पुग्ने गरी कुनै समय नेपाल भारतकै अंश रहेकाले जानकी भारतकै छोरी भनेर ठोकुवा गरेका छन् । उनले भनेका छन्, ‘नेपालको विरोध मैले बुझ्न सकेको छैन । जुनबेलाको कहानी हो, त्यसबेला भारतको अंश हुने गर्थ्यो नेपाल ।’

भारतबाट नेपाल अलग नहुँदैको कहानी भएकाले सीता भारतकै छोरी रहेको उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘हामी सीतालाई भारतकी छोरी भनिरहेका छौं भने भारतबाट नेपाल कहाँ अलग थियो र ? नेपाल त सन् १९०३ या ४ मा भारतबाट अलग भएको थियो । भारत नै थियो नेपाल । र, यो हिसाबले भारतकै छोरी थिइन् सीता । नेपाल त हाम्रो भाई हो । हामी नै हौं । म नेपाललाई भारतभन्दा अलग मान्दै मान्दिनँ ।’

फिल्मको संवादको विषयमा नेपालले आफूसँग कुरा गरेको खण्डमा जानकी भारतकै छोरी हुन् भनेर सम्झाउन सक्ने समेत उनले बताएका छन् । राष्ट्रको रुपमा नेपाल र भारत अहिले पनि अलग नरहेको लेखक मुन्ताशिरको तर्क छ । ‘राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन्,’ उनी अगाडि भन्छन्, ‘देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन् । किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।’

काठमाडौंका मेयर शाहले फिल्ममा समावेश जानकीसम्बन्धी संवाद हटाउनका लागि पहल गरिदिन आग्रह गर्दै सञ्चार तथा सूचना मन्त्रालयलाई पत्र समेत काटेका छन् । उनले उक्त संवाद नहटाएसम्म नेपालमा कुनै हिन्दी फिल्म प्रदर्शन गर्न नदिन पनि आग्रह गरेका छन् । उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै फिल्मको टिमलाई संवाद सच्चाउन तीन दिनको समय दिएका थिए । उक्त समय आइतबार सकिँदैछ । तर, फिल्मको मूल अंशबाट उक्त संवाद हटाइएको छैन ।

    सम्बन्धित समाचार...