२ जेष्ठ २०८१, बुधबार

सुधार हुँदै हवाई सेवा

domastic air flight

हवाई सेवामा भएको सुधार र विस्तारका कारण यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको छ । हवाई सुरक्षामा समेत निकै सुधार हुँदै गई विश्वसनीय बन्दै गएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा विश्वको औसतभन्दा राम्रो अवस्थामा पुगे पनि नीतिगत सुधारको अभावले नेपाली विमानको युरोप उडान समस्या भने विद्यमान रहेको देखिन्छ ।

सन् २०२२ को आँकडा अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को जनवरीमा एक हजार ६६२ अन्तर्राष्ट्रिय उडान अवतरणबाट दुई लाख आठ हजार ४५ यात्रुले ओहोरदोहोर गरेका छन् । त्यस्तै गरी फेबु्रअरीमा एक हजार ३३१ उडान अवतरणबाट एक लाख ८१ हजार ५६१, मार्चमा एक हजार ७२४ उडान अवतरणबाट दुई लाख ५२ हजार ९६४, अप्रिलमा एक हजार ९९२ उडान अवतरणबाट दुई लाख ९६ हजार ९४६, मेमा दुई हजार २० उडान अवतरणबाट दुई लाख ९४ हजार ५०९, जुनमा एक हजार ९३१ उडान अवतरणबाट दुई लाख ८० हजार २९१, जुलाईमा एक हजार ९४३ उडान अवतरणबाट दुई लाख ७५ हजार ६२४ जना यात्रुले ओहोरदोहोर गरेका थिए ।

त्यस्तै गरी अगस्टमा एक हजार ९९५ अन्तर्राष्ट्रिय उडान अवतरणबाट दुई लाख ८१ हजार ६९६, सेप्टेम्बरमा दुई हजार २८१ उडान अवतरणबाट तीन लाख ३९ हजार १३४, अक्टोबरमा दुई हजार तीन सय उडान अवतरणबाट तीन लाख ६० हजार छ सय, नोभेम्बरमा दुई हजार ५०६ उडान अवतरणबाट तीन लाख ६४ हजार ७२४ र डिसेम्बरमा दुई हजार ५२८ उडान अवतरणबाट तीन लाख ५२ हजार १३४ जना यात्रुले ओहोरदोहोर गरेका थिए ।

सन् २०२३ को जनवरीमा भएका दुई हजार ४६५ अन्तर्राष्ट्रिय उडान अवतरणबाट तीन लाख ४३ हजार ५८५, फेबु्रअरीमा दुई हजार ३४१ उडान अवतरणबाट तीन लाख ३२ हजार २८२ र मार्चमा भएका दुई हजार ६६२ अन्तर्राष्ट्रिय उडान अवतरणबाट तीन लाख ९४ हजार ६०८ यात्रुले हवाई सेवा लिएका छन् । प्राधिकरणको आँकडा अनुसार सन् २०२२ भरमा अन्तर्राष्ट्रियतर्फ २४ हजार ३१२ उडान तथा अवतरण हुँदा दुई दशकअघि सन् २००२ भर सात हजार ५०८ उडान–अवतरण भएका थिए ।

सन् २०२२ भर ३४ लाख ८८ हजार ३२८ अन्तर्राष्ट्रिय उडान तथा अवरतण हुँदा दुई दशकअघि १० लाख १०१ यात्रुले हवाई सेवा लिएको प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, “पछिल्ला दुई दशकयता देशको हवाई पूर्वाधार, हवाई सुरक्षा र सञ्जालको विकासक्रमसँगै हवाई यात्रुको सङ्ख्यासमेत दुु्रत गतिमा बढ्दै गएको छ ।” उनले कुनै बेला बिलासिताको साधनका रूपमा लिइने हवाई यात्रालाई अहिले हरेक नागरिकको पहुँचसँगै सुरक्षित, भरपर्दो र अपरिहार्यताको सारथि बनेको बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर ७०।१ प्रतिशत पुग्नु नै हवाई सुरक्षाको क्षेत्रमा नेपालले पाएको सफलताका रूपमा लिन सकिने उनको तर्क छ । यो दर दुई दशकअघि ४३ प्रतिशतको हारहारीमा थियो ।

विसं २०६४ अघि नेपालमा एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा थियो । हाल तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ भने आन्तरिकतर्फ विमानस्थल निर्माण, विमानस्थल स्तरोन्नति, कालोपत्रे, ग्राभेल र हवाई सञ्जालसँग जोड्नेक्रम जारी छ । त्यस्तै गरी आन्तरिकतर्फका पक्की धावन मार्ग भएका विमानस्थलको सङ्ख्या १३ रहेकोमा अहिले ४१ पुगेको छ । अन्तर्राष्ट्रियतर्फ थप मुलुकसँग द्विपक्षीय हवाई सम्झौता, नेपाल आउने विदेशी विमानको सङ्ख्यामा वृद्वि र नेपाल आउने अन्तर्राष्ट्रिय विमानमा उपलब्ध सिट सङ्ख्यासमेत बढेको उनले बताए।

उनले भने, “गणतन्त्रअघि तराईका चार वटा विमानस्थलमा मात्रै रात्रिकालीन उडान हुने गरेकोमा अहिले नौ वटा विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ । पहिले आन्तरिकतर्फका १२ घण्टा मात्रै सञ्चालनमा हुँदै आएकोमा अहिले १८ घण्टा पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिले १८ घण्टा सञ्चालनमा रहेको अहिले २१ घण्टा सञ्चालनमा छ । बाँकी तीन घण्टा प्राविधिक निरीक्षण तथा मर्मतसम्भारको समय जोडेर चौबिसै घण्टा उडान हुँदै आएको छ ।” उनले दुई दशकअघि ललितपुरको भट्टेडाँडामा रहेको राडारले पूर्वमा सिमरा र पश्चिममा सुर्खेतसम्मको आकाश ओगटेकोमा पछिल्लो समय जडान गरिएको राडारबाट देशभरको ९० प्रतिशत आकाशमा पहुँच विस्तार भएको बताए ।

हाल आएर विमानस्थलको भौतिक पूर्वाधारतर्फ विराटनगर, नेपालगन्ज र भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माण सुरु गरिएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग स्तरोन्नति, सुर्खेत र तुम्लिङटार विमानस्थलको धावन मार्ग विस्तार गरेर सिआरजे, एटिआर विमान अवतरण गर्न सक्ने भएकाले नेपाली हवाई क्षेत्रमा पूर्वाधार विकास भइरहेको देखिन्छ।

    सम्बन्धित समाचार...