१४ बैशाख २०८१, शुक्रबार

‘मैले स्थापित कूटनीतिक संयन्त्रमार्फत सीमासम्बन्धी समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गरे’

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल-भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सोमबार आफ्नो भारतको चारदिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको सीमालगायत थाती सबै समस्या समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमासम्बन्धी हालसम्मका स्पष्ट विचार राखेको पहिलोपटक भएको दाबीसमेत गरे ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटका अवसरमा दिएको सीमासम्बन्धि समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिका रुपमा लिएको पनि जनाए । उनले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकिर गरे ।

‘भेटवार्तामा सीमासम्बन्धी विषयहरुमा गम्भीर रुपले छलफल भएको छ । सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढंगले आग्रह गरेको छु,’ संसद्‌मा प्रधानमन्त्री दाहालले भने, ‘यहाँहरुलाई थाहा नै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटका अवसरमा सीमालगायत थाती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नुभएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताएको पनि संसद्‌लाई जानकारी गराए ।