३ श्रावण २०८१, बिहीबार

अत्यावश्यक काम नपरी चर्को घाममा घरबाहिर ननिस्कौं : डा. पुन

sherbadhur pun

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकालाई गर्मीबाट बच्न सुझाएका छन् ।

‘वातावरणीय सन्तुलन बिग्रँदा विश्वभरि नै तापक्रम बढ्दै गएको छ । शारीरिक रुपमा कमजोर, श्वासप्रश्वास, मुटुलगायतका दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिका यसबाट प्रभावित छन् । सामान्य मानिसले पनि गर्मीबाट बच्नैपर्छ । सकेसम्म कुनै अत्यावश्यक काम नपरीकन चर्को घाममा बाहिर नहिँड्नु जाती हुन्छ, ‘ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै उनले भने ।

डा. पुनले अत्यधिक गर्मी बढ्दा संक्रामक रोगहरु निम्तने चिन्ता पनि गरे । उनले भने, ‘केही दिन अझै तापक्रम निरन्तर बढ्न सक्ने विश्लेषण गरिएको छ । त्यसले संक्रामक रोगहरु निम्त्याउन सक्छ । त्यसैले खानपानमा ध्यान दिनुपर्छ । गर्मीमा अत्यधिक पसिना आउने भएकाले डिहाइड्रेसन हुन सक्छ । त्यसैले प्रशस्त पानी पानी, जुस वा झोलिलो पदार्थ पिउनुपर्छ । शरीरलाई पानीले भिजाउनुपर्छ ।’ कोठामा बस्दा झोलाढोका बन्द नगर्न पनि उनले सुझाए ।

अत्यावश्यक कामले बाहिर हिँड्नु पर्दा छाता ओढ्नुपर्ने वा बेला बेलामा शीतल ठाउँमा बस्नुपर्ने डा. पुनको भनाइ छ ।

    सम्बन्धित समाचार...