११ बैशाख २०८१, मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘भिआइपी’ आरोपितको प्रतिरक्षामा ‘हाई प्रोफाइल’ वकिल

bhutsani

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गतका मुद्दामा जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरू भएको छ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबार थुनछेक बहस सुरू भएको हो। थुनछेक बहस सकिएपछि मुद्दाका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्ने आदेश हुन्छ। जसलाई अदालती भाषामा ‘थुनछेक आदेश’ भनिन्छ।

सामान्यतयाः अरू फौजदारी मुद्दामा अदालतले एक वा दुई दिन बहस गरी थुनछेक आदेश जारी गर्ने अभ्यास छ। तर शरणार्थी प्रकरणमा भने एक वा दुई दिनभित्रै आदेश हुने सम्भावना न्यून छ। शरणार्थी प्रकरणमा मुछिएका आरोपितलाई पाँचवटा कसुरमा मुद्दा चलाइएको छ।

धेरै आरोपित र उनीहरूका पक्षमा बहस गर्ने कानुन व्यवसायीहरू पनि धेरै हुने भएकाले थुनछेक बहस सकिन कम्तीमा डेढ साता लाग्ने देखिएको छ। इजलासले १० दिनभित्रै बहस सकाएर थुनछेक आदेश जारी गर्ने योजना बनाएको छ। न्यायाधीश न्यौपानेले यही जेठ ३१ गतेसम्म आफूले थुनछेक आदेश दिन चाहेको बताएका छन्। बहसका लागि वादी (सरकार पक्ष) र प्रतिवादी (अभियुक्त पक्ष) का वकिललाई निश्चित समय व्यवस्थापन गरी बहस सकाएर ३१ गते साँझसम्म थुनछेक आदेश जारी गर्ने बताएका हुन्।

शरणार्थी प्रकरणमा मुछिएका तीसजनालाई पाँच÷पाँचवटा कसुरमा मुद्दा चलाइएको छ। धेरै आरोपित भएकाले थुनछेक बहस सकिन कम्तीमा डेढ साता लाग्ने देखिएको छ। आइतबारदेखि सुरु थुनछेक बहस १० दिनभित्र सकाएर आदेश जारी गर्ने योजना काठमाडौं जिल्ला अदालतको छ।

‘त्यो दिन (जेठ ३१ गते) चिया समयअघि तपाईंहरूले बहस सकिदिनुहोस्। चिया समयपछि अध्ययन गर्न केहीबेर लाग्ला,’ दुवै पक्षका वकिलहरूलाई बहसको सीमा तोक्दै न्यायाधीश न्यौपानेले भने, ‘त्यो दिन बेलुकासम्म आदेश दिनेछु।’

इजलासमा तोकिएको समयअनुसार वादी पक्षका वकिललाई बहस गर्न तीन दिन समय तोकिएको छ। जसअनुसार आइतबार, सोमबार र मंगलबार सरकारी (वादी) पक्षका वकिलले बहस गर्ने छन्। त्यसपछि ६ दिन प्रतिवादी पक्षका वकिलले बहस गर्ने छन्। जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्ने सहमति भएको छ। सोही दिन इजलासले थुनछेक आदेश दिनेगरी सहमति जुटाइएको छ। यसरी समय निर्धारण गरिए पनि बहस चल्दै गर्दा समय केही तलमाथि हुन सक्ने अवस्था रहने जानकार बताउँछन्।

समय निर्धारण गरिएसँगै आइतबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका तर्फबाट बहस सुरू गरिएको छ। जसमा महेशप्रसाद खत्रीले आफ्नो बहस सकाएका छन्। उनले बहसमा करिब तीन घण्टा समय लगाए। त्यसपछि जनकप्रसाद घिमिरेले बहस थालेका छन्। उनले सोमबार पनि बहस गर्नेछन्। त्यसपछि वादीतर्फबाट सीताराम अर्याल, प्रकाश घिमिरे, दिनेश भट्टराई, सूरबहादुर परियार र निर्मला मरासिनीले बहस गर्ने जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जनाएको छ। नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...