
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत गरिब, असहाय तथा विपन्न नागरिकका लागि अस्पतालहरुले १० प्रतिशत नि:शुल्क शय्या उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौंको सहिद गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको अनुगमन गर्दै मन्त्री बस्नेतले सबै गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले गरिब तथा विपन्न नागरिकलाई एक वर्षभित्र दिएको सेवाको विवरण मन्त्रालयमा पठाउन निर्देशनसमेत दिए ।
सरकारी अस्पतालको स्वास्थ्य सेवा कमजोर रहेको र नीजि अस्पतालहरुले बिरामीसँग अस्वाभाविक पैसा असुलेको आरोप लागेपछि स्वास्थ्य मन्त्रालयले अस्पतालहरुको अनुगमन सुरु गरेको हो ।
मन्त्रालयले अस्पतालहरुले दिएको सेवाको अवस्थाबारे जानकारी राख्न छुट्टै हेल्प डेक्स सञ्चालनको तयारी गरेको छ । त्यस्तै अस्पतालहरुलाई शय्या उपलब्ध भएको वा नभएकोबारे अनलाइनमै जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ ।