७ बैशाख २०८१, शुक्रबार

अत्यधिक बढ्यो गर्मी, धमाधम बन्द हुन थाले विद्यालय

bidhyalay school

सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानिय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने देखिएको आजदेखि यही जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले बिहीबार सूचना जारी गर्दै आजदेखि विद्यालय बन्द गरिएको जानकारी दिए ।

यसैगरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि यही जेठ २१ देखी असार ८ गतेसम्म २० दिनका लागि क्याम्पस बन्द गर्ने निर्णय गरेको क्याम्पस प्रमुख राजिवकुमार मिश्रले जानकारी दिए । एक सातायता मधेश प्रदेशका सबैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ । सर्वसाधारण अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

    सम्बन्धित समाचार...