१६ चैत्र २०८०, शुक्रबार

बालेनलाई गणतन्त्र मन नपरेको कि नेता ?

balen

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सोमबार टुँडिखेलमा आयोजना गरिएको गणतन्त्र दिवसको विशेष समारोहमा उपस्थित भएनन्। केही दिन अगाडिसम्म नेतालाई डम्पिङ साइटमा लगेर फाल्नुपर्ने धारणा राखेका मेयरले गणतन्त्र दिवसको कार्यक्रम अघोषित रूपमा बहिष्कार गरेसँगै सामाजिक सञ्जालमा निकै चर्चा चलेको छ।

उनलाई कसैले गणतन्त्र मन नपरेको भन्दै राजावादी भएको आरोप लगाएका छन् भने कतिले गणतन्त्रका नेता मन नपरेकाले उनी कार्यक्रममा नगएको हुनसक्ने बताएका छन्। ‘उनी राजावादी भएर हैन, अहिलेका नेताको चाला देखेर कार्यक्रममा नगएका हुन सक्छन्,’ सामाजिक सञ्जालमा प्रताप श्रेष्ठ लेख्छन्, ‘उनले जे गरेका छन् राम्रो गरेका छन् ।’

श्रेष्ठले यसो भने पनि कतिपयले भने उनी राजवादी भएको आरोप लगाए। ‘एकातिर उनी नेताहरूलाई चोर भन्दै गणतन्त्र दिवसको कार्यक्रम बहिष्कार गर्छन्,’ सामाजिक सञ्जालमा अनुप कार्की लेख्छन्, ‘अर्कातिर राजावादीहरू बालेनको तारिफमा आफ्नो समय खर्चन्छन्। कुनै एक कार्यक्रममा हिमानी साहसँगको बालेन भेटको तस्बिर सार्वजनिक गर्दै कार्कीले पछिल्लोसमय उनी राजवादीको आशाका केन्द्र बनेको बताए।

विगतमा गणतन्त्र दिवसको अवसर पारेर टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा विगतको समय काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयर अनिवार्य रूपले उपस्थित हुँदै आएका थिए। यस्तोमा मेयर साहले कार्यक्रम बाहिष्कार गरेसँगै विभिन्न खाले टिकाटिप्पणी चलेको हो। सिंहदरबारसंग टसल लिएका मेयरले यसपटक गणतन्त्र दिवसको कार्यक्रम अघोषित रूपमा बहिष्कार गरेर आफ्नो चरम असन्तुष्टि जारी राखेका छन्।

सरकारले आफ्ना काममा सहयोग नगरेको भन्दै चैतको अन्तिम साता सिंहदरबार परिसरको फोहोर उठाउन रोकेका बालेनले यसअघि प्रधानमन्त्रीले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी महत्वपूर्ण बैठकमा समेत सहभागिता जनाएका थिएनन् । नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...