३२ असार २०८१, सोमबार

यत्रो सुन त म बोक्न पनि सक्दिनँ भन्दै ट्रोल गर्नेलाई केपी ओलीको जवाफ

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गरेका छन् । आफूमा सुनप्रति कहिल्यै मोह नभएको उनले बताए ।‘सानो हुँदा आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ ।

त्योबाहेक सुन कहिल्यै लगाएको छैन’, उनले भने, ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला ?’ प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ केजी सुन हराएको भन्दै ओलीको सामाजिक सञ्जालमा ट्रोल भएको थियो । ओलीको तस्वीरमा सुनैसुन ढाकिएको फोटो बनाएर भाइरल गरिएको छ ।कलाकारहरुलाई एमाले प्रवेश गराउने कार्यक्रममा ओलीको भनाइ यस्ता थिएः

‘आज दुनियाँमा सबैभन्दा छाडापन यही देशमा देखिन्छ । यति छाडापन कहीं नहोला । पहिले छाडापन भनेर विभिन्न देशको कुरा गर्थौं । अहिले नेपालमा जस्तो अन्त छैन । युट्युब खोल्न सकिँदैन । खोल्न पर्‍यो भने एकान्त कुनामा जानुपर्छ । के आउने हो भनेर डराउनुपर्छ । विकृतितर्फ भासिँदै गएका छौं हामी ।

यो देश जहाँ सभ्यता–संस्कृतिको सुरुवात भएको थियो, त्यो धर्तीमा आज के बोल्ने, के गर्ने बारबन्देजै छैन । शत प्रतिशत असत्य हो भन्ने जान्दाजान्दै हाकाहाकी झूट बोल्ने । जस्तो, केपी ओलीको फोटोमा हातभरि सुनै सुनका, यता पनि सुनै सुनका । त्यति सुन म बोक्न पनि सक्दिनँ होला ।

मेरो शरीरमा जिन्दगीमा औंठी लगाएको छैन । आमाले लगाउने गरेको औंठी सानो हुँदा नै ३-४ दिन लगाएको थिएँ । आमाले कान्छी औंलामा लगाएको औंठी आमा बितेपछि मैले बीचको औंलातिर लगाएँ । त्यस औंठीले मलाई बडो डिस्टर्व गर्‍यो । आमा सम्झिन कम भएको थियो, औंठीले गर्दा पटकपटक सम्झिने भएँ । हडबडी भइराख्ने आमाको सम्झानाले । त्यो भएपछि ३(४ दिन लगाएर फुकालें ।

फेरि एक दिन एउटा साथीलाई के झोंक चलेछ, मलाई सुनको औंठी लगाउन दियो । त्यसको निहुँ के थियो मलाई याद छैन । बडो माया गरेर दियो । तपाईं पैसा बोक्नु हुँदैन, खर्च हुँदैन । कहिलेकाहीं आपतमा काम लाग्नसक्छ, यो एउटा लाइराख्नुस् भनेको थियो । मैले सुनमा रुचि छैन भनें । तर, लाइराख्नुस् भन्यो । त्यस दिनभरि लाएँ । बेलुका घरमा फुकालेर राखें । त्यसपछि कसले लग्यो याद भएन ।

त्यसदेखि यता मैले औंठी लगाएको छैन । मेरो रुचि औंठीसौंठीमा छैन । सानो छँदा कान छेडेर मुन्द्रा लगाइदिएका थिए । अलि ठूलो भएपछि खोलियो । केटीको भए खोलिन्नथ्यो होला । त्यसपछि त्यो पनि रहेन ।

अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट पनि यत्रो मेहनत गरेर । एउटा चिजलाई अर्को ठाउँमा लगेर । कस्तो नियत, कस्तो घटिया कुरा होला ?