७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री दाहालको औपचारिक भारत भ्रमण आजदेखि

prac 3

प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका रुपमा आज दिउँसो भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्दैछन् । करिब ५० जनाको सरकारी टिम र निजी क्षेत्रका ५० भन्दा बढी प्रतिनिधिसहित सयभन्दा बढीको जम्बो टिमसहित प्रधानमन्त्रीले चार दिन भारतमा बिताउने छन् । यसक्रममा भारतसँग विभिन्न विषयमा सम्झौता र समझदारीहरु हुनेछन् ।

आजका कार्यक्रम

आज दिउँसो प्रधानमन्त्री दाहाल चढेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौंबाट उडेको डेढ घण्टापछि अर्थात् दिउँसो २ बजेर ५० मिनेटमा इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । त्यहाँबाट उनी सरदार पटेल मार्गमा रहेको होटल आइटीसी मौर्यमा जाने छन् । प्रधानमन्त्रीको बासको प्रवन्ध सोही होटलमा मिलाइएको छ ।

आज दिउँसो प्रधानमन्त्री दाहाललाई भारतीय विदेशसचिव विनयमोहन क्वात्राले मौर्य होटलमा भेटघाट गर्ने छन् भने त्यसपछि साँझ ६ बजे भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले आधा घण्टा भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्रीले भारत भ्रमण गर्दा नेपाली दूताबासले रात्रि भोजको आयोजना गर्ने प्रचलन छ । जस अनुसार डोभलसँगको भेटपछि आज प्रधानमन्त्री दाहालको टोली दूताबासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यसूची रहेको छ ।

भोलिको व्यस्त कार्यसूची

बिहीबार प्रधानमन्त्री दाहालको कार्यतालिका व्यस्त रहनेछ । भ्रमणमा हुने छलफल र सम्झौताहरुको मुख्य दिन पनि विहीबार नै हो । बिहीबार बिहान राजघाटमा पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि प्रधानमन्त्री दाहालको दैनिकी व्यस्तता शुरु हुन्छ ।

बिहान ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसको नीलगिरि कक्षमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आधा घण्टा वन टु वन कुराकानी हुनेछ । त्यसपछि दुबै देशका प्रतिनिधिमण्डलसँगको द्वीपक्षीय छलफलमा दुबै देशका प्रधानमन्त्रीहरु सहभागी हुनेछन् ।

प्रतिनिधिमण्डलको बैठक सकिएपछि दिउँसो १२ बजे सम्झौताहरु आदान प्रदानको कार्यक्रम रहेको छ । त्यहीँ दुई देशका प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् ।

संयुक्त पत्रकार सम्मेलन सकिएपछि हैदरावाद हाउसमै नेपाली प्रतिनिधि मण्डलको सम्मानमा भारतीय पक्षबाट आयोजित दिवाभोजमा सरिक भएपछि प्रधानमन्त्री दाहाल दिउँसो २ बजे मौर्य होटल फर्कने छन् ।

दाहालले बिहीबार दिउँसो ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनगढ र साढे ४ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ ।

विहीबार नै साँझ साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीले होटलमा आयोजना गर्ने संयुक्त कार्यक्रममा प्रधानमन्त्रीले सम्वोधन गर्नेछन् । र, होटलमै रहेर विभिन्न पक्षसँग भेटवार्ता गर्नेछन् ।

तेस्रो दिनको कार्यक्रम

भ्रमणको तेस्रो दिन शुक्रबार बिहान ८ बजे विमानमार्फत प्रधानमन्त्री दाहाल भारतको सफा मानिने नमूनायोग्य शहर इन्दोर जानेछन् । दिउँसो उनले मध्यप्रदेशको ठूलो शहर इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम छ ।

इन्दोरमा शुक्रबार प्रधानमन्त्री दाहालको बास होटल मेरियटमा हुनेछ । त्यहाँ उनीसँग मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्ने छन् ।

इन्दोरमा रहँदा बीजेपीका नेता एवं मुख्यमन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । भारतको मध्यप्रदेश प्रान्त बीजेपी र आरएसएसको गढ मानिन्छ ।

चौथो दिन

भ्रमणको अन्तिम दिन शनिबार प्रधानमन्त्री दाहालले इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अपरान्ह १ बजे उनी त्यहाँबाट इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा आउने छन् र त्यहाँ एक घण्टा बिताएर नेपाल एयरलाइन्सको नियमित उडानबाट ४ बजेर २० मिनेटमा स्वदेश फर्कनेछन् ।

के–के छन् भ्रमणका एजेण्डा ?

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाइ रुटका विषयमा समझदारीहरु हुनेछन् । त्यस्तै केनेक्टिभिटी र कृषिमा सहयोगमा परियोजनाहरुमा पनि छलफल हुनेछ । विद्युत क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न दीर्घकालीन सम्झौताहरु हुने परराष्ट्रमन्त्री साउदले जानकारी दिएका छन् ।