६ बैशाख २०८१, बिहीबार

वुहानकै प्रयोगशालाबाट ‘कोभिड-१९’ फैलिएको हुनसक्ने चिनियाँ वैज्ञानिकको टिप्पणी

corona

चीन सरकारका उच्च तहमा रहेका एक पूर्ववैज्ञानिकले ‘कोरोनाभाइरस रोग’ वुहानको प्रयोगशालाबाटै चुहावट भएको सम्भावनालाई नकार्न नसकिने टिप्पणी गरेका छन् ।

चीनको रोग नियन्त्रण केन्द्र–सीडीसीका पूर्वप्रमुख प्रोफेसर जर्ज गाओले बीबीसी रेडियो फोरको पोडकाष्ट कार्यक्रमलाई दिएको अन्तर्वार्तामा यस्तो कुरा टिप्पणी गरेका हुन् । विश्वकै एक शीर्ष भाइरसविज्ञ मानिने प्रोफेसर गाओले गत वर्षमात्रै सीडीसीबाट अवकाश पाएका हुन् । हाल उनी चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानका उपाध्यक्ष छन् ।

अन्तर्वातामा उनले यस विषयमा चीनको सरकारी निकायले वुहान इन्स्टिच्यूट आफ भाइरोलोजिमा औपचारिक छानबिन नै गरेको जानकारीसमेत दिएका छन् । चीन सरकारले यसरी औपचारिक रुपमै वुहान प्रयोगशालामाथि अनुसन्धान गरेको कुरा पहिलो पटक कसैले स्वीकार गरेको हो । यद्यपि अनुसन्धानपछि उक्त प्रयोगशालालाई ‘क्लिन चिट’ दिइएको प्रोफेसर गाओको भनाइ छ ।

२०१९ को डिसेम्बरमा पहिलो पटक चीनको हुबेइ प्रान्तको वुहान सहरमा कोरोना भाइरसको पहिचान गरिएको थियो । वुहानस्थित समुद्री जीव बजार-हुवानन सीफूड मार्केटबाट उक्त भाइरस मानिसमा सरेको हुन सक्ने एउटा आशंका छ भने वुहानस्थित प्रयोगशालामा अनुसन्धानमा संलग्न कोही व्यक्ति उक्त भाइरसबाट संक्रमित भएको र उसैबाट अन्य बाहिरिया व्यक्तिमा सरेको हुन सक्ने अर्को आशंका रहेको छ ।

बेलायतस्थित चिनियाँ दूतावासबाट जारी विज्ञप्तिमा तथाकथित ‘ल्याब-लिक’को सिद्धान्त चीनविरोधी शक्तिले सिर्जना गरेको झुट भएको र यो राजनीतिक स्वार्थले प्रेरित तथा वैज्ञानिक आधाररहित भएको जनाइएकोछ ।

चीनको वुहानबाट फैलिएर विश्वव्यापी महामारीको रुप लिएको कोभिडका कारण अहिलेसम्म विश्वभरी ६८ लाख ८१ हजार ९ सय ५५ जनाको मृत्यु भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ ।

    सम्बन्धित समाचार...