२३ बैशाख २०८२, मंगलवार

आममाफी पाएका पूर्वसांसद रेशमलाल चौधरी भन्छन्- टीकापुर घटनालाई आयोग गठन गरी पुन: नयाँ ढंगबाट छानबिन गर्नुपर्छ

resham riha

सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका पूर्वसांसद रेशमलाल चौधरीले टीकापुर घटनालाई नयाँ आयोग नै गठन गरेर पुन नयाँ ढंगबाट छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने जनाएका छन् ।

कारागारमुक्त भएपछि कैलाली जाने क्रममा सोमबार नेपालगन्ज विमानस्थलमा कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै चौधरीले जेलमा रहेका अन्य साथीहरुलाई पनि मुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर कुरा गरेको जानकारी दिए ।

काठमाडौंबाट श्री एयरको विमानबाट नेपालगन्ज पुगेका रेशमले टीकापुर घटना दुर्भाग्यपूर्ण घटनाका रुपमा लिएको टिप्पणी गर्दै घटनालाई सामान्य आकलन गर्न नहुने जनाए ।

‘महामहिम राष्ट्रपतिज्यूबाट आममाफी दिएर म कारागारबाट रिहा भएको त छु । तर हामीले हार्‍यौं या हामीले जित्यौं यो कुराको अनुभूत हामीले जनतामाझ गराइदिनुपर्छ । मैले यसलाई दुर्भाग्यपूर्ण घटनाका रुपमा लिएको छु,’ रेशमले भने, ‘यसलाई नयाँ ढंगबाट छानबिन गर्नुपर्छ ।’

टीकापुर घटनाको वास्तविकता अर्कै भएकाले वास्तविकता बाहिर ल्याउन पहल गर्ने उनको भनाइ छ । जेल र प्रवासमा बसेर साढे आठ वर्ष बिताएका चौधरीले पुराना कुरा कोट्याएर आफूले पुन: समाजमा आगोको झिल्को सल्काउन नचाहेको र घटनाका मृतकका आफन्तसँग भेटेर छलफल गर्ने र न्याय दिलाउने प्रयत्न गर्ने धारणा राखे । उनले घटनाको योजनाकार आफू नभएको जिकिर गरे ।

जेलमुक्त भएर घर जाँदै गरेका रेशमको स्वागतका लागि पुष्पगुच्छा र माला लिएर नागरिक उन्मुक्ति पार्टीका नेता, प्रदेश सांसद र समर्थकहरु नेपालगन्ज विमानस्थल पुगेका थिए । टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरी रिहा भए पनि टीकापुर घटनामा दोषी ठहर अन्य चारजना प्रदीप चौधरी, हरिनारायण चौधरी र वीरबहादुर चौधरी कैलालीमा कारागारमा र नाबालक श्रवण चौधरी पोखरा सुधार गृहमा छन् । २९ जना अझै फरार छन् ।

थरुहट थारुवान् संघर्ष समितिले २०७२ भदौ ७ गते टीकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई आजीवन काराबासको सजाय पाएका रेशमलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर सजाय माफी दिएपछि सोमबार बिहान रिहा भएका हुन् ।

    सम्बन्धित समाचार...