६ बैशाख २०८१, बिहीबार

ओलीलक्षित गर्दै लेखकले भने : कञ्चनपुरबाट पानीजहाज चढेर डडेल्धुराहुँदै बैतडी भएर दार्चुला पुग्ने अनुभूति भयो

ramesh lekhak

सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न विपक्ष दलका सांसदहरुलाई आग्रह गरेका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उनले सरकारमा रहँदा राम्रो देख्ने र नरहँदा देश अन्धकारमय देख्न नहुने पनि पटकपटक दोहोर्‍याए ।

उनले सरकारको नीति तथा कार्यक्रम सही विश्लेषणको साथ आएको उल्लेख गर्दै त्यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए । उनले केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्दै पानी जहाज चढने स्वार्गानुभूति गरेको तर त्यो कार्यान्वयन हुन नसकेको स्मरण गराए। प्रमुख सचेतक लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा आफ्नो पार्टीले मतदान गर्ने जानकारी समेत दिए ।

‘सरकारको नीति तथा कार्यक्रमले आजको स्थितिलाई विश्लेषण गरेको छ । जानुपर्ने गन्तव्यलाई निर्धारण गरेको छ र, त्यहाँसम्म पुग्ने साधनको उचित व्यवस्था गरेको हुनाले म आग्रह गर्न चाहन्छु–नेपाली काँग्रेस पार्टी, नेपाली काँग्रेस संसदीय दल यो नीति तथा कार्यक्रमलाई स्विकार गर्दछ । समर्थन गर्दछ । र, आज यसमा हुने मतदानमा नेपाली काँग्रेस संसदीय दल यसको पक्षमा मतदान गर्छ’, उनले भने ।

उनले अगाडि थपे, ‘हामीले १५ घण्टा भन्दा बढि छलफल गरेका छौं, आलोचना, समालोचना र समर्थनको कोणबाट यसमा धेरै विचारहरुको अभिव्यक्ति भएको छ । मैले डेढ दर्जनजति नीति, कार्यक्रम सुन्ने, पढने मात्रै होइन, भोग्ने अवसर पनि प्राप्त गरेको छु । भाषिक रुपमा लेखनमा केही फरकहरु भएपनि आधारभूत रुपमा हाम्रा नीति, कार्यक्रमहरुमा धेरै फरक हुने गरेको छैन ।’

‘कोभिडका विषयहरु भएका बेला यस्ले महत्व पाउँला । भूकम्प भएका बेला त्यसको विषयले महत्व पाउँला । आर्थिक मन्दी भएको बेला त्यो विषयले महत्व पाउँला । होइन भने आधारभूत रुपले धेरै फरक र परिवर्तनहरु हुँदैन’ उनले भने, तथापि यसा आलोचना, प्रत्यालोचना भएका छन, कुन नीति, कार्यक्रम, कुन भाषा, कुन शैली, कुन शब्द र कुन आशय, अर्थमा लेखिएको छ भनेर मात्रै हेर्नु भन्दा पनि हामीले ती नीति, कार्यक्रमहरुलाई लागू गर्नका लागि, कार्यान्वयन गर्नका लागि कति प्रयत्न गर्‍यौं ? कति कार्यान्वयन भए ? यसमा जान आवाश्यक हुन्छ ।’

उनले यो कुन दस्तावेजमा के लेखिएको छ । कसले कति राम्रो भाषा लेखिएको छ हेर्ने निबन्ध प्रतियोगिता नभई यथार्थमा यसको कार्यान्वयन महत्वपूर्ण विषय रहेको बताए । कतिपय नीति, कार्यक्रमहरु पढदा स्वर्गानुभूति हुने बताउँदै उनले भने, ‘ एक पटकको नीति, कार्यक्रम पढदा मलाई स्वर्गको अनुभूति भयो । नीति, कार्यक्रम पढदै थिएँ । कञ्चनपुर जिल्लाबाट पानी जहाज चढेर डडेलधुरा हुँदै बैतडीभएर दार्चुला पुग्ने अनुभूति मैले गरेँ । मलाई बडो स्वर्गको अनुभूति जस्तो भयो । पानी जहाज पनि चानचुने होइन । नर्वेजिएन जस्तै होला भन्ने अनुमान गरेँ ।’

‘सम्माननीय सभामुखज्यूको आसनको दाहिनेतर्फको छेउको कुर्सीमा बस्दा यो देश झिलिमिली देखिन्छ । सबै कुरा राम्रो देखिन्छ । सबै कुरा गज्जव हुन्छ । तर, समय, परिस्थिति, संयोगले त्यो कुर्सी २ मिटर उता गएर अर्को कुर्सीमा बस्नुपर्दा यो देश अन्धकारमय देखिन्छ’ उनले भने, ‘यो मानसिकता र मनस्थितिबाट मुक्त यदि हामी हुन सकेनौं भने नीति तथा कार्यक्रमलाई जतिसुकै राम्रो निबन्धमा लेख्न सकेपनि त्यो कार्यान्वयन हुन सक्दैन । नेपाली जनतासँग पुग्न सक्दैन ।’

प्रमुख सचेतक लेखकले आफू सरकारमा रहँदा देश झिलिमिली देख्ने, विपक्षमा रहँदा देश अन्धकारमय देख्ने दृष्टिले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा जान नसक्ने समेत बताए ।