
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचार र बेथितिविरुद्ध होमिएको र केही समयमै ठूला कारबाही हुने दाबी गरेका छन् ।
माओवादी पार्टी निकट प्रेस सेन्टर नेपालको १९ औँ साधारणसभा तथा २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘हिजो हामी अगाडि बढ्दा हजारौँ, लाखौँ क्रान्तिकारीहरु र लाखौँ, करोडौँ जनताको साथ समर्थन भएजस्तै मलाई विश्वास छ अहिले देखिएको मात्रै होइन केही समयभित्र अरु ठूल्ठूला एक्सन देख्न सक्नु हुनेछ । तर त्यो एक्सनले पारेको तरंग पनि त्यसरी नै ठूल्ठूलो हुनेछ ।’
प्रधानमन्त्री दाहालले भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा होमिएको यो अवस्थामा कति बेला एम्बुस वा दुस्मनको घात प्रतिघातमा परिने हो कुनै टुंगो नभएको जनाए । ‘जसरी जनयुद्ध सुरु गर्दा को कति बाँच्ने हो ? को कति बेला मारिने हो ? भन्ने टुंगो छैन तर पनि मृत्यु वरण गरेर हामी हामफालेका थियौँ । अहिलेको लडाइँ पनि त्यस्तै-त्यस्तै छ,’ उनले भने ‘कतिबेला एम्बुसमा परिने हो या दुस्मनको घात प्रतिघातमा परिने हो कुनै टुंगो छैन । तर जसरी हामी विचार, वर्ग, राष्ट्र र जनताको निम्ति समर्पित भएर लाग्ने संकल्प गरेर लडाइँमा हाम फालेका थियौँ । अहिले पनि नेतृत्व तहबाट तपाईंसामू भन्दा त्यही संकल्पका साथ हामी लागेका छौँ ।’