७ जेष्ठ २०८१, सोमबार

अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

tin dal

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भइरहेको छ । प्रतिनिधसभाको अवरोध हटाउन कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता छलफल जुटेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।

छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्ण बहादुर खड्का , एमाले नेता पदम गिरी र कांग्रेस नेता रमेश लेखक पनि सहभागी छन् ।

पशुपतिमा लगाइएको जलहरीको विषयमा माओवादीका सांसद लेखनाथ दाहालले प्रश्न उठाएपछि एमालेले शुक्रबारको संसद बैठक दिनभर अवरोध गरेको थियो । सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि आज दिउँसो ४ बजे बोलाइएको छ । त्यसअघि दलहरुबीच सहमति जुटाएर बैठक सञ्चालन गर्ने प्रयास भइरहेको हो ।

सांसद दाहालले उठाएको प्रश्नमा माओवादीले माफी माग्नु पर्ने एमालेले अडान लिएको छ । माफी नमागे आज पनि संसद अवरोध गर्ने एमालेको तयारी छ । बैठक अवरुद्ध हुने भएपछि प्रधानमन्त्री दाहालले शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।

प्रधानमन्त्री दाहालले आज संसदमा उठेका प्रश्नको जवाफ दिने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

    सम्बन्धित समाचार...