
इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र साविक विजेता गुजरात टाइटन्स भिड्ने भएका छन् । गुजरातले मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
अहमबादस्थित नरेन्द्र मोदी स्टेडियममा वर्षाका कारण झण्डै आधा घण्टा ढिला सुरु भएको खेलमा पाहुना टोली मुम्बईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
गुजरातले सुभम गिलको शतकीय पारीको मद्दतमा ३ विकेट गुमाएर २ सय ३३ रनको विशाल योगफल बनायो । गिलले ६० बलमा एक सय २९ रनको पारी खेलेका थिए । उनको आकर्षक शतकमा ७ चौका र १० छक्का समावेश रह्यो । चौथो इनिङसमा यो उनको तेस्रो शतक हो । गिलले ३२ बलमा ५० रन बनाएका थिए । त्यसपछि मात्रै १७ बलमा उनले एक सय रन पूरा गरे । गिलले ९९ रन बनाउँदा टिम डेभिडले क्याच छुटाउन मुम्बईका लागि दुर्भाग्यशाली सावित भयो । साई सुधर्शन ४३ रन बनाउँदै रिटायर हर्ट भए । कप्तान हार्दिक पाण्डेया २८ रनमा अविजित रहे ।
जवाफमा उत्रिएको मुम्बईले १८ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ७१ रन मात्रै बनाउन सक्यो । सूर्यकुमार यादवले ६१ , तिलक बर्माले ४३ रन थपे । क्यामरुन ग्रिनले ३० रन जोड्नु बाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन। मोहित शर्माले मात्रै १० रन खर्चिएर पाँच विकेट हात पारे । राशिद खान र मोहम्मद शामीको नाममा २ -२ विकेट रहयो ।
अब गुजरातले चेन्नईसँग भोलि (आइतबार) उपाधिका लागि खेल्ने छ । यसअघि पहिलो क्वालिफायरमा गुजरात चेन्नईसँग १५ रनले हारेको थियो ।