१३ बैशाख २०८१, बिहीबार

यस्तो छ टोपबहादुर रायमाझी माथि लागेको अभियोग, रायमाझी लिनेखानेमा मस्त ! (अभियोगको पूर्ण विवरण)

Top bahadur Rayamajhi
फाइल फोटो

पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद तथा पार्टीका केन्द्रीय सबिव टोपबहादुर रायमाझीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरुबाट आफूले लिनेखाने काममा संलग्न रहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता किटान गर्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, ठगी, संगठित अपराध र किर्तेमा मुद्दा चलाएको छ ।

टोपबहादुर रायमाझीमाथि लगाइएको अभियोग जस्ताको तस्तै :

सानु भण्डारी र केशव प्रसाद दुलालले टेकनाथ रिजाललाई प्रतिवादीको घरमा ल्याई भेट गराउँदा निजले टोप बहादुर रायमाझीले भुटानी शरणार्थीहरुलाई अमेरिका पठाउँदा नेपालीहरुलाई पनि भुटानी बनाई अमेरिका पठाउने आफ्नो योजना रहेको र सो मा सहयोग गरिदिनका लागी टेकनाथ रिजाललाई अनुरोध गरेको भन्ने प्रतिवादी टेकनाथ रिजालको बयानमा खुलेको, नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यका लागी प्रतिवादीहरु सन्देश शर्मा, सानु भण्डारी, केशव प्रसाद दुलालसँग ललितपुरको बखुण्डोल स्थित टंक गुरुङको रेष्टुरेण्टमा बारम्वार मिटिङ गरेको, आफ्ना भाईलाई कोरोना भई हेलिकप्टरबाट काठमाडौं ल्याएको दिन प्रतिवादी डा. इन्द्रजित राईसँग नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने बिषयमा होटल साँग्रिलामा मिटिङ गरेको र सोही मिटिङमा जाहेरवाला प्रेमराज पन्थीलाई निजका आफन्तहरु समेतलाई अमेरिका पठाउने कुराको ग्यारेण्टी गरेको, प्रतिवादी सानु भण्डारीबाट रु.१,६०,००,०००/- (एक करोड साठी लाख) नगदै र निजको छोरा सन्दिप रायमाझीलाई बैंकिङ प्रणालीबाट रु.४०,००,०००।– (चालिस लाख) दिएको भन्ने प्रतिवादी सानु भण्डारीको बयानबाट खुलेको ।

प्रतिवादी ईन्द्रजित राई र सानु भण्डारी तथा केशव दुलालको बीचमा ईन्द्रजित राईको कार्य कक्षमा नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने सम्बन्धमा सानु भण्डारी तथा केशव दुलालले ईन्द्रजित राईलाई रकम दिएको र समयमा ईन्द्रजित राईले काम नगरेको सम्बन्धमा हातपात समेत हुँद निजले सहजकर्ताको भूमिका निर्वाह गरेको भन्ने निजैको बयान समेतबाट खुलेको, प्रतिवादी सानु भण्डारी, केशव प्रसाद दुलाल, आफु उप-प्रधानमन्त्री तथा उर्जामन्त्री भएको अवस्थामा प्रस्तुत ठगी योजनाका सक्रिय सदस्यहरु केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, ईन्द्रजित राई समेत सँग बाक्लो उठबस, घुमफिर तथा मन्त्रलयबाट तयार हुने चिठ्ठी पत्रहरुको सहजिकरण गरी आफ्नो पदिय जिम्मेवारीको चरम दुरुपयोग गरी जाहेरवालाहरुलाई झुक्यानमा पारेको सानु भण्डारी, केशब प्रसाद दुलाल र टोप बहादुर रायमाझी ईन्द्रजि राईको कार्यकक्षमा बारम्बार आईरहने मानिस हुन २०७७ श्रावण, भदौ महिना तिर एकपटक यी तीनै जना इन्द्रजित राईको कार्यकक्षमा विवाद भई हातहाला सम्म भएको हुँदा म समेत गई छुट्टाएर ३ जनालाई कार्यकक्ष बाहिर लगेको त्यति बेला मलाई ईन्द्रजित राईले अब देखि यीनीहरुलाई भित्र पस्न नदिनु भनी आदेश दिएको सायद सो कुरालाई निजले बयानमा स्वीकार गरेको ।

प्रतिवादी सानु भण्डारीको घरबाट बरामद हुन आएको डायरीमा यी प्रतिवादीलाई विभिन्न मितिमा नगदै रकम दिएको भनी अभिलेख राखेको देखिएको हुँदा यी प्रतिवादी टोप बहादुर रायमाझी अन्य प्रतिवादीहरु ईन्द्रजित राई, सानु भण्डारी, केशव प्रसाद दुलाल, सन्दिप रायमाझी र टेकनाथ रिजालसँग प्रत्यक्ष रुपमा मिलेर सुरुवात देखि नै कसूर अपराधको योजनाकारको रुपमा अन्य प्रतिवादीहरुलाई परिचालन गर्ने र आफु समेत परिचालित भई प्रस्तुत संगठित ठगी एवं राष्ट्रहित प्रतिकुल काम गर्न नहुने अपराधमा सक्रिय भूमिका निर्वाह गरी आपराधिक समूहका अन्य प्रतिवादीहरुलाई परिचालन गरी जाहेरवालाहरु समेतबाट संकलन गरिएको ठगीको लिनेखाने काममा संलग्न रहेको देखिदा यी प्रतिवादी टोप बहादुर रायमाझीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करौडौं रकम उठाउन लगाई पीडितहरुलाई हानी नोक्सानी पुन्याई ठगी गरी लाभ लिई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसूर गरेको पुष्टि हुन आयो ।

यी प्रतिवादी टोप बहादुर रायमाझीले बालकृष्ण पन्थी संयोजक रहेको भुटानी शरणार्थी समस्याको स्थायी र दिर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन २०७६ मा ४२९ जना छुट भएका भुटानी शरणार्थी भनी उल्लेख भएकोमा सो प्रतिवेदनका आधारमा गैर भुटानी शरणार्थीलाई अमेरिका पठाउन सम्भव नभएको हुँदा करोडौ रकम लिनका लागि प्रतिवादीहरुले आपसमा मिलोमतो गरी बालकृष्ण पन्थी संयोजक रहेको सक्कली प्रतिवेदनलाई गृह मन्त्रालयका तत्कालिन सचिव रहेका प्रतिवादी टेकनारायण पाण्डे मार्फत बाहिर ल्याएर सो प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको व्यहोरा थप गरेको, पृष्ठ १० को २.५ नं. बुँदामा फरक व्यहोरा देखिएको, पृष्ठ नं. १३ को क्र.नं., (क.अ.) नं. १४ को ग.नं.को दोश्रो Para, पृष्ठ १६ को ३.६,३.६.१ र ३.६.२ पृष्ठ नं. १७ र पृष्ठ नं. १८ को निष्कर्षमा व्यहोरा फेरबदल गरी गृहमन्त्रालयमा सक्कली प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थीका नाममा संगठित अपराध, लिखत किर्ते र ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको र भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाई लगाई लिखत किर्तेको कसूर समेत गरेको देखिदा निज प्रतिवादी टोप बहादुर रायमाझीले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत किर्तेको कसूर गरेको पुष्टि हुन आयो ।

त्यसै गरी प्रतिवादी टोप बहादुर रायमाझीले शक्तिशाली र गरिमामय पदमा बसी आफूलाई लाभ पुऱ्याउने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकूल काम गरेको र निजहरुले गरेको उक्त कसूर नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आएको र नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा हेर्ने दृष्टिकोणमा समेत आँच आउने गरी राष्ट्रको साख गिराउने कार्य समेत गरेकोले निज प्रतिवादी टोप बहादुर रायमाझीले राष्ट्रहित प्रतिकूल काम गरेको देखिदा मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) र उपदफा (७) बमोजिम राज्य विरुद्धको कसूर गरेको पुष्टि हुन आयो ।

प्रस्तुत मुद्दामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी योजना बनाई भुटानी शरणार्थीको नक्कली कार्ड समेत बनाई बहालवाला गृहमन्त्री, गृह सचिव, सुरक्षा सल्लाहाकार, गृहमन्त्रीका निजी सचिव समेतलाई करौडौं रुपैयाँ नगद उपहार दिई सो क्षेत्रका विशेषज्ञहरुलाई अपराधिक समूहको संगठनमा मिसाई श्रेणीबद्ध संरचना तयार गरी संगठित अपराधिक क्रियाकलापमा लागेका सदस्यहरुको कामको जिम्मेवारी बाँडफाँड गरी तहगत आधारमा सबै भन्दा माथि अपराधको नाईकेका रुपमा प्रतिवादीहरु सानु भण्डारी र केशव दुलाल, ईन्द्रजित राई, सन्दिप रायमाझी, प्रतिक थापा बसेर त्यसपछिको Layer मा सो कार्यलाई कार्यान्वयन गर्ने प्रतिवादीहरु सन्देश शर्मा, आङटावा शेर्पा, निरज राई, टंक कुमार गुरुङ, सागर राई रही त्यस मुनी कार्यदल बनाउने नीति नियम बनाउने प्रतिवादीहरु टेक नारायण पाण्डे, नरेन्द्र के.सी., टोप बहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनाथ रिजाल र शम्सेर मियाँ समेतले नीतिगत रुपमा प्रभाव पार्ने कार्य गरी संगठित रुपमा ठगीको रकम उठाउने अपराधिक कार्यमा प्रतिवादीहरु रामशरण के.सी., राजेश अर्याल, बिक्रम भन्ने गोविन्द चौधरी, सुनिल बुढाथोकी, निरन्जन कुमार पोखरेल, धिरेन राई, मोहन राज राई, अशोक पोखेरल, सागर राई, दिपा हुमागाईं, विनिता साङदेन लिम्बु, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल समेतले ठगीको रकम संकलन गरी आपराधिक लाभका लागी रकम उठाउने कार्य गरी तहगत संरचनाको आधारमा गोप्य ढंगले आ-आफ्नो भूमिका निर्वाह गरी संगठित अपराध समेत गरेको देखिदा निज प्रतिवादी टोप बहादुर रायमाझीले संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) तथा दफा ५ बमोजिमको संगठित अपराधको कसूर गरेको पुष्टि हुन आयो।

प्रतिवादी टोप बहादुर रायमाझी समेतले समेतले नियोजित र संगठित रुपमा समूहमा आवद्ध भई एकै वारदातमा एकभन्दा बढी कसूर गरी एकिकृत कसूर समेत गरेको देखिदा निज प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिम कसूर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कसुर ठहर हुन अभियोग मागदावी लिईएको छ।

    सम्बन्धित समाचार...