११ बैशाख २०८१, मंगलवार

बालकृष्ण खाँड निर्दोष ठहरिने विश्वास छ : सांसद घिमिरे

shyam ghimire

नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टी कसैलाई बचाउन नलागेको बताएका छन् ।

‘यो कसैलाई बचाउने वा नबचाउने कुरा नै होइन । प्रहरीले कानुन बमोजिम गरेको काममा हामीले बाधा व्यवधान दिएको छैन । प्रहरीले छलछाम गरेको छैन भन्ने मलाई विश्वास छ । त्यसो गर् यो भने भोलि थाहा भइहाल्छ । अहिले मिडिया र जनदबाबका कारण कुनै एक व्यक्तिले रोकेर त्यस्ता अपराध लुक्दैनन् । रोकिँदैनन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै घिमिरेले भने ।

कानुनी प्रक्रियामा पूर्व गृहमन्त्री बालकृष्ण खाँड निर्दोष ठहरिने विश्वास पार्टी सभापति शेरबहादुर देउवाले लिएको हुन सक्ने पनि उनले बताए । घिमिरेले थपे, ‘खाँडजीसँग मेरो ४० वर्षदेखिको संगत छ । उहाँ नेविसंघ, तरुण दलदेखि नेतृत्व गर्दै आएको नेता हो । उहाँ कांग्रेसका राम्रा नेतामध्ये पर्नुहुन्छ । उहाँबाट यस्तो बेइमानी भयो होला भन्ने विश्वास गर्ने ठाउँ छैन । पार्टी सभापतिले पनि त्यही आधारमा भन्नुभयो होला । तर त्यो हामीले भन्ने कुरा होइन, अदालतले भन्ने कुरा हो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नौटंकी गरिरहेको आरोप पनि घिमिरेले लगाए । उनले थपे, ‘ओलीजी सारा नौटंकी गर्न सक्नुहुन्छ ।

सुरुमा एमालेलाई फसाउन खोजियो भन्नुभयो । पछि बाध्य भएर टोपबहादुर रायमाझीलाई सचिव पदबाट निलम्बन गर्नुभयो । ओलीजी म मात्र शुद्ध छु भन्नुहुन्छ । तर बयान दिनेहरुले उहाँकै स्वकीय सचिव, सल्लाहकार, गृहमन्त्री, गृहमन्त्रीकी श्रीमती सबैलाई पोलेका छन् । ओलीले लुकाएर लुक्छ ? जनता बेबकुफ छन् ? ओलीजीमा सत्ताबाट विमुख हुनुपरेको कुण्ठा छ ।’

अर्को प्रसंगमा घिमिरेले देशमा आर्थिक मन्दीमा छाएका बेला सेनाका लागि चीनबाट हतियार किन्नु नहुने औंल्याए । साथै उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पदीय धर्म निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

    सम्बन्धित समाचार...