८ बैशाख २०८१, शनिबार

स्वर्णिम वाग्लेकाे टिप्पणी – नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’

swarnim wagle

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भएको जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलमा उनले नीति तथा कार्यक्रम कर्मकाण्डमा मात्रै अल्मलिएको टिप्पणी गरे । उनले नवीनता, ऊर्जा, प्रेरणा र महत्त्वकांक्षाको कसीमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उल्लेख गरे ।

‘रास्वपा रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ । हामी भन्छौं, परम्परा धान्नलाई ल्याइएको दस्ताबेज हो । र परम्परा धानिएको पनि छ,’ वाग्लेले भने, ‘नवीनता, ऊर्जा, प्रेरणा, महत्त्वाकांक्षा इत्यादिका कसीमा हामी अझ राम्रो गर्न सक्थ्यौं होला ।’

उनले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको दाबी गरे । जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन उनले सरकारलाई आग्रह पनि गरे । त्यसैगरी पूर्वाधारको मोडलमा पनि पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

‘बजेटहरु अविश्वसनीय हुनुको कारण के पनि हो भने जेठमा सुन्निएको, अविश्वसनीय बजेट बनाउने, अनि माघमा चुपचापसँग साइजमा लिएर आउने । तसर्थ यसपालि यथार्थपरक बजेट ल्याउन म सरकारलाई आग्रह गर्छु । पूर्वाधारकै मोडलमा पनि हामीले पुनर्विचार गर्नुपर्‍यो । पूर्वतयारी, लागत, सञ्चालको मोडालिटी इत्यादिमा हामीले नयाँ शिराबाट बहस गर्नुपर्ने हुन्छ,’ उनले भने ।

सांसद वाग्लेले नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जघाउने खालको बजेट आउनुपर्ने भन्दै सरकारलाई सुझाव दिए ।

    सम्बन्धित समाचार...