१५ चैत्र २०८०, बिहीबार

माओवादी सांसद पौडेलको कटाक्ष- एमालेलाई ‘द्वन्द्व’ भन्दा मज्जा आउने, ‘जनयुद्ध’ भन्दा नआउने ?

devendra poudel

नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले ‘जनयुद्ध’लाई राजनीतिक आन्दोलन मान्न नेकपा एमाले तयार नभएकामा आपत्ति जनाएका छन् ।

‘एमाले बृहत् शान्ति सम्झौता स्वीकार गरेर आएको होइन ? त्यसमा पार्टीको महासचिव माधव नेपाल र केपी ओलीको हस्ताक्षर सुकेको छ र ? संविधान र अन्य दस्तावेजहरुमा जनयुद्धलाई भिन्नभिन्न भाषा प्रयोग हुँदै आएको छ । उहाँहरु जनयुद्धलाई राजनीतिक आन्दोलन स्वीकार्न तयार हुनुहुन्न ? उहाँहरुको मात्र हो र यो देश ? एमालेलाई सशस्त्र द्वन्द्व भन्दा मजा लाग्ने, जनयुद्ध भन्दा नआउने ?,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै उनले भने ।

आफूहरु एमालेको निर्णय मानेर ‘जनयुद्ध’मा नगएको पनि बताए । उनले भने, ‘जनयुद्धमा एमालेको आपत्ति केका लागि ? हामी यसको प्रतिवाद एक पटक होइन, हजार पटक गर्छौं । जनताका छोराछोरी, किसान, महिला, जनजाति, मधेसी, दलित राजतन्त्रविरुद्ध त्यसमा लडेका थिए । हामीले उहाँहरुको निर्णय मान्नुपर्छ भन्ने छैन । मानेर जनयुद्धमा गएको पनि होइन ।’
एमालेका माग अनुसार सरकारको नीति तथा कार्यक्रम फिर्ता नहुने पनि पौडेलले औंल्याए ।

उनले भने, ‘त्यसका केही अपुग होला । तर फिर्ता गर्ने कुरा हुँदैन । हामी पास गर्छौं । विरोध गर्नेहरुले केपी ओलीको पालाको नीति तथा कार्यक्रम पनि अध्ययन गरे हुन्छ । त्यस्तो के फरक छ ?’ उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धान राय प्रतिवेदनमा राजनीतिक प्रतिक्रिया दिनु आवश्यक नभएको बताए ।

साथै उनले कारागारमा रहेका रेशम चौधरी अदालतको निर्णयमा सम्मान गर्दै हुन सक्ने विकल्प खोज्ने पनि बताए । गणतन्त्र दिवसमा माफी दिन लाग्नुभएको हो भन्ने प्रश्नमा माओवादी नेता पौडेलले भने, ‘त्यस्तो छलफल पनि चल्दै छ, तर टुंगिएको छैन ।’

    सम्बन्धित समाचार...