१३ बैशाख २०८१, बिहीबार

संसदमा सांसदको गैरजिम्मेवारीपन, हाजिर गर्दै टाप कस्दै

Pratinidhi sabha bonk samsad

प्रतिनिधिसभामा सहभागी सांसदहरुको संसद्मा हाजिर गरेर टाप कस्ने पुरानो नियतिले निरन्तरता पाएको छ । बजेट अधिवेशन सुरु भएसँगै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा अधिकांश सांसद अनुपस्थित देखिएका हुन् ।

सोमबार नीति तथा कार्यक्रमको दफावार छलफलमा भाग लिएका सांसदबाहेक अन्य सांसदको उपस्थिति अत्यन्त न्यून देखियो । बोल्ने सांसदहरुले सुनाउने सांसदको अभाव भएको रोस्टमबाटै गुनासोसमेत गरे । बोल्ने कार्यसूचीमा नपरेका सांसदहरु हाजिर गरेर हिँड्ने गरेकाले उनीहरु संसद्प्रति उत्तरदायी नभएको नीति तथा कार्यक्रमको छलफलमा सहभागी सांसदहरुले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्यालले रोस्टममा उभिएर खाली कुर्सीहरुलाई हेर्दा रोस्टमकै अपमान अनुभूति भएको टिप्पणी गरे । सदनका खाली कुर्सीहरुलाई हेर्दा आफू पनि रोस्टममा आएर बोलिरहनु रोस्टमकै अपमान गरेजस्तो लाग्ने अवस्था आएको भन्दै अर्यालले भने– ‘बरु घरमै बसेर ऐनामा हेर्दै बोलेर पेनड्राइपमा रेकर्ड गरेर सचिवालयमा बुझाए हुने हो कि भन्ने जस्तो लाग्छ ।’

संसद्का २७५ जनाबीच सुन्ने र सुनाउने नीति तथा कार्यक्रमको छलफल केवल रेकर्डका लागि मात्रै बोलेजस्तो अनुभूति भएको उनको भनाइ छ । सरकारको नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण छलफलमा खाली कुर्चीलाई सुझाव सुनाउन बाध्य सांसदहरुले २७५ सांसद नै छलफलमा उपस्थित गराउने वातावरण बनाउनुपर्ने माग समेत गरेका छन् । संसद्मा अधिकांश सांसदहरु अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रममा राम्रोसँग छलफल हुन नपाएको नीति कार्यक्रमका टिप्पणीकर्ता सांसदहरुले बताएका छन् ।

तलबभत्ता बुझ्नकै लागि संसद्मा हाजिर गर्ने र बाहिरिने सांसदहरुको नियतिका कारण आवश्यक कानुन निर्माण, विधेयक पारितलगायत काममा असर पर्ने गरेको बताइएको छ । संसद्मा सहभागी सांसदहरु भाषणबाजीमै सीमित हुने र आफ्नो भाषण सकेर बाहिरिने परम्परा कायमै रहेको सांसदहरु नै बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...