४ बैशाख २०८१, मंगलवार

सरकारका अधिकांश सचिवमाथि ‘बिचौलिया’को आरोप

karmachari Yg38OXEo7b

सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ ।

अधिकांश सचिवहरू मन्त्री र उनका आसेपासेबाट परिचालित हुँदा र बिचौलियाकै भूमिकामा पुग्दा सिंगो प्रशासन क्षेत्रको साख निहुरिएको भन्दै सचिवहरूप्रति आक्रोश व्यक्त हुन थालेको हो । निजामती क्षेत्रमा विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना विशिष्ट श्रेणी सचिवस्तरका कर्मचारी छन् ।

उनीहरूमध्ये अधिकांशलाई बिचौलियाको आरोप लागेको छ । केही सचिवहरू भने इमानदार रहेको र उनीहरू दबिएको अवस्थामा रहन बाध्य भएको बताइएको छ । इमानदार सचिवको पहुँच उच्च राजनीतिक नेतृत्वसँग छैन । त्यसैले उनीहरू पाखा पर्नुपरेको बताइन्छ । उनीहरू भने बिचौलियाको आरोपबाट मुक्त छन् ।

सरकारका कार्यालय सहयोगीदेखि उपसचिवसम्मकै कर्मचारीले सरकारका अधिकांश सचिव र सहसचिवको भूमिकामाथि बारम्बार प्रश्न गर्दै आइरहेका छन् । केही थोरै सचिवहरूले अन्य सचिवको कार्यशैली देख्दा वाक्कदिक्क भएको बताउने गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे तत्कालीन मन्त्री बालकृष्ण खाँणको बिचौलियाको भूमिकामा रहेको पुष्टि भएसँगै सरकारका अधिकांश सचिवहरू अहिले पनि त्यस्तै भूमिकामा रहेको हुन सक्ने भन्दै प्रश्न उठ्न थालेको हो । प्रहरीका अनुसार सचिव पाण्डे आफैंले मन्त्रीलाई पु¥याउन भन्दै करोडौं रुपैयाँको डिल गरेको प्रमाणहरू भेटिएका छन् ।

सरकारकै एक सचिवले मंगलबार सरकारकै अन्य सचिवहरूमाथि आक्रोश पोख्दै सचिवहरूलाई घण्टे करारमा राख्नुपर्ने सुझाव दिएका छन् । उनले सचिवको विद्वताबाट आफू वाक्क दिक्क भएको भन्दै व्यङ्य गरेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले मंगलबार फेसबुकमा आफ्नो कडा स्टाटस राख्दै व्यङ्ग्य गर्दै लेखेका छन्– ‘देशको विकास गर्ने हो भने नेपाल सरकारका सचिवहरूलाई घण्टे करारमा राखियोस् ।’ उनले सचिवहरूको विद्वतापन देखेर वाक्क लागेर आएको पनि उल्लेख गरेका छन् ।

स्रोतका अनुसार विशेष गरी आकर्षक मन्त्रालयमा जान सचिवहरू मरिहत्ते गर्दै मन्त्रीको ‘एस म्यान’ हुने गरेका छन् । गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र शहरी विकास मन्त्रालय बढी आकर्षक मन्त्रालयको रूपमा चिनिन्छन् ।

सरकारकै कर्मचारीहरूका अनुसार सचिव सहसचिवलगायतका उच्च पदस्थहरूले जनताले कामलाई पन्छाएर आफ्नो स्वार्थअनुसारको काम भने मरिहत्ते गरेर फत्ते गर्ने गरेका छन् । त्यस्तै कुनै मन्त्रीको एसम्यान भएर आएका सचिवहरूले मन्त्रीको स्वार्थअनुकूलका काम पनि फटाफट गर्ने गरेको बताइन्छ । ‘जनता र मुलुकको हित हुनेखालका कार्य गर्न भने सचिवहरू खासै उत्साहित हुँदैनन् ।’ सचिवहरूसँगै काम गरेका उपसचिव तथा शाखा अधिकृतहरूको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...