४ बैशाख २०८१, मंगलवार

नक्कली शरणार्थी प्रकरण : प्रहरी अनुसन्धान अन्तिम चरणमा पुग्दा नयाँ नयाँ तथ्य खुल्दै

top indra teknaryan niraj

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अन्तिम चरणमा पुग्दा नयाँ नयाँ तथ्य समेत खुल्दै गएका छन् ।

छुटेका भनिएका शरणार्थीको तथ्याङ्क सङ्कलन गरेर तयार पारिएको प्रतिवेदनमा १ हजार १७ जनाको झुटा विवरण थप गरिएको खुलासा भएको छ । गृह मन्त्रालय स्रोतका अहिले अनुसन्धान भइरहेको ४ सय २९ जनाभन्दा बाहेक भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै बिचौलियाले अर्को छुट्टै १ हजार १७ जनाको सूची तयार पारेको खुलेको हो ।

नेपाल र युएनएचसीआरको संयुक्त टोलीले प्रमाणीकरण गरेको भनिएको ४ सय २९ जना मै नक्कली देखिएपछि गृह मन्त्रालयले पुनः प्रमाणीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । तर तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले फेरि अर्को पत्र पठाएर ४ सय २९ बाहेक बाहिर छुटेकाहरू पनि समेट्न भनेका थिए ।

यता बिचौलियाले तयार गरेको अर्को छुट्टै १ सय १७ जनाको सूचि थियो । जुन सूचिमा कुनै पनि वास्तविक शरणार्थी नभएको गृह स्रोत बताउँछ । उनीहरू मध्ये बिचौलियालाई पैसा बुझाउनेको नाम युएनएचसीआरले प्रमाणीकरण गरेको ४ सय २९ जनाको सूचीमा ल्याएर राखिएको थियो ।

सोमबार प्रहरीले गृहका केही अधिकृत र सचिव टेकनारायण पाण्डेलाई एकै ठाउँमा राखेर सोधपुछ गरेको थियो । बयानका क्रममा सचिव पाण्डेले आफूबाट गल्ती भएको स्वीकारेको दाबी प्रहरी स्रोतको छ । बालकृष्ण पन्थीले तयार पारेको सक्कली प्रतिवेदन पनि उनै सचिव पाण्डेले बिचौलियाको हातमा पुर्‍याएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

समितिले प्रतिवेदन बुझाएपछि सचिव पाण्डेले अध्ययनका लागि भन्दै लिएर गएका थिए । पन्थीको सक्कली प्रतिवेदनमा स्टिच लगाइएको थियो भने सचिवले अध्ययन सकेर ल्याएर राखिदिएको प्रतिवेदन ब्यान्डिङ गरेको भेटिएको हो । सचिव पाण्डेले बिचौलियामार्फत पैसा बुझाएका नक्कली भुटानी शरणार्थीको नाम संलग्न भएको प्रतिवेदन गृहमा राखेका हुन् ।

त्यस्तै कुन प्रयोजनका लागि कार्यदल गठन गरिएको हो भन्ने तत्कालीन सचिव प्रेमकुमार राईले बनाएको पत्र पनि प्रहरीलाई बुझाउने तयारी गृहले गरेको छ । कार्यदल गठनका लागि तत्कालीन मन्त्री रामबहादुर थापाले सचिवलाई तोक आदेश दिएका थिए । स्रोतका अनुसार तत्कालीन सचिव राईले पनि पक्राउ परेका सचिवकै शैलीमा दर्तामा छुटेका शरणार्थीको लगत सङ्कलन गर्न भन्दै पत्र लेखेका छन् । जसले राई र तत्कालीन मन्त्रीमाथि अनुसन्धान गर्ने बाटो खुल्न सक्छ ।

    सम्बन्धित समाचार...