१३ बैशाख २०८१, बिहीबार

कमेडी च्याम्पियन सिजन २ विजेता भरतमणी पौडेलले पुरै पैसा नपाएकै हुन् त ?

bharat

कमेडी च्याम्पियन सिजन २ मा विजेताले पाउनु पर्ने पुरस्कारको रुपमा एक कार र नगद २५ लाख भनिएको थियो । त्यो पुरस्कार र टाइटल जित्नका लागी कमेडीयनहरु निकै प्रतिस्पर्धामा थिए । त्यही प्रतिस्पर्धाबाट भरतमणी पौडेल विजेता बने । भरतमणीले सोचेका थिए एउटा कार र नगद २५ लाख रुपैया पाउँछु । तर अहिले भरतमणी आश्चर्यमा परेका छन् ।

विजेता भएकै दिन कार देखाइयो र केही समयमा उनलाई हस्तान्तरण पनि गरियो तर नगद रकम लामै समय उनको हातमा परेन । ढिलै भए पनि आउला नि भनेर भरतमणी चुप बसे । बिजेता बनेको एकबर्ष पुग्न लाग्दा उनले पाउनुपर्ने रकम बल्ल पाए । ढिलै भए पनि भरतमणीले २५ लाख आउने भयो भन्ने सोचेका थिए तर उनको हातमा जम्मा १४ लाख २५ हजार मात्र आयो । भरतमणी आश्चर्यमा परे, किन यति थोरै रकम आयो भनेर ।

हिमालय टेलिभिजनको ‘सेलेब्स टक शो’मा गरिएको कुराकानीमा भरतमणीले आफूले २५ लाख भनिएकोमा जम्मा १४ लाख २५ हजारमात्र पाएको बताएका छन् । उनले आकस्मिक लाभान्स कर सँगै विभिन्न कर काटिएर त्यति रकम पाएको बताए । ‘मलाई थाहा थिएन यति थोरै आउँछ भन्ने कुरा । अलि–अलि काटिएला भन्ने लागेको थियो तर झण्डै आधा नै काटिँदा अचम्ममा परेँ ।’ भरतमणीले भनेका छन् । ‘पछि केके कुरा काटियो भनेर सोधे तर विभिन्न करको लिस्ट नै देखाउनुभयो । केही भन्न मिलेन ।’ उनका अनुसार आफूले पुरस्कारको रुपमा पाएको कारको पनि विभिन्न कर भनेर त्यहि रकमबाट काटिएको हो ।

उनले अहिले आएर दुख मानेर, असन्तुष्ट व्यक्त गरेर केही नहुने भन्दै मन बुझाएको बताउँछन् । साथै उनले अहिलेसम्म आफूले पाएको कार आफ्नो नाममा पास नगरिदिएको भन्दै गुनासो पोखेका छन् । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीलाई पनि बारम्बार भनेको तर अहिलेसम्म केही नभएको बताएका छन् । भरतमणीले कुनै पनि विजेताले पाउने पुरस्कारमा कर नकाटिदिए हुन्थ्यो भन्छन् । उनी भन्छन्, ‘बरु थोरै नै यति पाइन्छ भनिदिए हुन्थ्यो होला । त्यसमै खुसी भइन्थ्यो ।’

पछिल्लो समय भरतमणी विभिन्न स्टेजमा व्यस्त छन् । अहिलेसम्म चार वटा देशमा प्रस्तुतिकै लागी पुगेका उनले कुनै टेलिभिजनका शोमा आबद्ध भएर काम भने गरेका छैनन् ।

    सम्बन्धित समाचार...